दिपेन्द्र जैसवाल
गन्जभवानीपुुर,बारामा यस वर्ष साउन महिनाको पहिलो हप्ताको दोस्रो दिनसम्म जम्मा ७५ प्रतिशत मात्र रोपाइँ सम्पन्न भएको छ ।प्रत्येक वर्ष साउनको सुरुआतसम्म करिब ८५ देखि ९० प्रतिशत रोपाइँ सकिने गरे पनि यस वर्ष समयमै वर्षा नहुँदा हालसम्म ७५ प्रतिशत मात्र रोपाइँ सम्पन्न भएको कृषि ज्ञान केन्द्र कलैया बाराले जनाएको छ ।
कृषि ज्ञान केन्द्र बाराका सूचना अधिकारी गणेश महराका अनुसार वर्षा नहुँदा किसानले समयमै रोपाइँ गर्न सकेका छैनन् । उहाँले भन्नुभयो, ‘‘आवश्यक मात्रामा वर्षा नपरेकाले धेरै ठाउँमा किसानहरू मोटर पम्प, दमकल तथा नहरको पानी प्रयोग गरेर रोपाइँ गरिरहेका छन् ।’’
कलैया उपमहानगरपालिका– १० निलकण्ठवाका किसान अनिरुद्धप्रसाद कुशवाहाले पानी अभावका कारण रोपाइँ गरिएको खेत समेत सुख्खा परेको गुनासो गर्नुभयो । ‘‘धेरै ठाउँमा पानीको अभावले लगाइएको धान समेत सुक्न थालेको छ,’’ कुशवाहाले दुखेसो पोख्नुभयो ।बारामा प्रत्येक वर्ष करिब ४६ हजार २० हेक्टर क्षेत्रफलमा अगहनी धान खेती हुँदै आएकोमा हालसम्म ३४ हजार ५ सय १५ हेक्टर क्षेत्रमा मात्रै रोपाइँ सम्पन्न भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । यो हालसम्म जम्मा ७५ प्रतिशत मात्र हो ।
यसैबीच मधेस प्रदेशमा सुख्खाका कारण धान रोपाइँ हुन नसकेपछि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले मधेस प्रदेशका ८ वटै जिल्लामा टोली पठाउने भएको छ । हालको अवस्था, समस्या समाधानका लागि गर्न सकिने तत्कालीन र दीर्घकालीन उपाय र विकल्प अध्ययन गर्न कृषि प्राविधिकको टोली पठाउने निर्णय भएको हो ।
शुक्रवार कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले मन्त्रालय र मातहतका कर्मचारीहरूसँग छलफल गरी तुरुन्तै सो क्षेत्रमा टोली पठाउन निर्देशन दिनुभएको हो । मन्त्री अधिकारीको निर्देशन अनुसार प्रत्येक जिल्लामा केन्द्रबाट २÷२ जनाको दरले टोली पठाउने निर्णय भएको हो ।मधेस प्रदेश सरकारले लामो समय सो क्षेत्रमा पानी नपर्दा खाने पानीको समेत अभाव भएको र धान रोप्ने अवस्था समेत नभएको भन्दै केही दिन अघि सुख्खा ग्रस्त क्षेत्र घोषणा गरेको थियो ।मधेसका हालसम्म करिब ४६ प्रतिशत रोपाई सम्पन्न भएको मधेस प्रदेश कृषि मन्त्रालयले जनाएको छ ।



















