पुष्पराज खतिवडा
मनहर्वा,लोकतन्त्र दिवसको अवसरमा सिमरा खानेपानी तथा सरसफाइ उपभोक्ता समिति सिमराले स्थानीय एक विद्यालय र गुम्बालाई सहयोग गरेको छ ।समितिले जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ३ नरवस्तीस्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालयलाई पाँच थान पङ्खा र जीतपुरसिमरा– १ सिमरास्थित टाँसी देछेन लिङ विश्वशान्ति बौद्ध गुम्बालाई एक लाख १ हजार रुपैयाको चेक हस्तान्तरण गरेको हो ।

समितिका अध्यक्ष कासिम हुसेनले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विनोद बस्नेतलाई पङ्खा र गुम्बाका अध्यक्ष राजकुमार लामालाई चेक हस्तान्तरण गर्नुभएको हो । सो अवसरमा समितिका उपाध्यक्ष पूर्णचन्द्र तिमिल्सिना, सहसचिव सानुबाबु कुर्मी, कोषाध्यक्ष लोकराज पौडेल, सदस्य तोयानाथ लुईटेल, सुभद्रा कुमारी, प्रकाश क्षेत्रीलगायतको उपस्थिति रहेको समितिका कर्मचारी निर्जल घिमिरेले जानकारी दिनुभयो ।
नेपालमा लोकतन्त्र स्थापना भएको १८ वर्ष पूरा भएको छ । लोकतन्त्र स्थापनाको दिनलाई आधार मानेर हरेक वर्ष लोकतन्त्र दिवस मनाउने गरिएको छ । मंगलवार १८औँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रम गरी देशभर मनाइएको छ ।
२०६३ वैशाख ११ गते आजैका दिन १९ दिने जनआन्दोलनको बलमा तत्कालीन राज ज्ञानेन्द्र शाहले सत्ता जनतालाई सुम्पिएका थिए । सोही दिनको सम्झनामा लोकतन्त्र दिवस मनाउने गरिएको हो ।


















