सिम्रौनगढ,बाराको सिम्रौनगढ नगरपालिकामा गत वैशाख १४ गते आएको विनाशकारी हावाहुरी र असिनापानीले तरकारी, खाद्यान्न बालीमा भएको क्षतिको क्षतिपूर्तिको माग गर्दै स्थानीय किसान आन्दोलित बनेका छन ।हुरीले क्षति पुगेको बालीमा क्षतिपूर्ति र राहत उपलब्ध गराउन स्थानीय सरकारले कुनै चासो नदिएपछि पीडित किसानहरुले आइतवार सिम्रौनगढ नगरपालिका कार्यालयको कार्यालयमा धर्ना र तालाबन्दी गरेका हुन । नगरका विभिन्न वडाबाट सयौंको संख्यामा भेला भएर किसानहरुले कार्यालयका २ वटा मुख्य प्रवेश द्वारमा तालाबन्दी र गेटबाहिर धर्ना दिएका हुन ।

किसान सङ्घर्ष समितिका सदस्य रामप्रवेश कुशवाहाले पीडित किसानले क्षतिपूर्तिको माग गर्दै नगरपालिका कार्यालयमा पटक पटक ध्यानाकर्षण गराएको तर सुनुवाइ नभएपछि आन्दोलनमा उत्रिन बाध्य भएको बताउनुभयो ।
गत बैशाख महीनाको १४ गते आएको हावाहुरी र असिनाले वडा नम्बर १, २, ३, ६ र ७ मा करिब ९४ बिघा जमिनमा लगाइएको तरकारी र खाद्यान्न बाली पूर्ण रूपमा नष्ट पारेको थियो । ‘किसानको वर्षभरिको मेहनत एकै रातमा स्वाहा भयो,” कुशवाहाले भन्नुभयो, तर किसानको पीडामा मलम लगाउने कोही भएन ।’किसानहरूले बालीमा भएको नोक्सानी मध्ये खनजोत, बिउ, मल र सिँचाइमा भएको खर्चको क्षतिपूर्ति मात्र मागेका छन् । ‘प्रतिकट्टा ८ हजार रुपैयाँका दरले राहत मागेका छौँ,” कुशवाहाले भन्नुभयो, ‘तर स्थानीय सरकारले किसानको पीडा बुझ्न चाहेन ।’

नगरपालिकाले क्षतिपूर्तिको व्यवस्था नगरेसम्म आन्दोलन नरोकिने किसानहरूको अडान छ । मेयर साब आएर माग पूरा गर्ने लिखित प्रतिबद्धता नजनाएसम्म धर्ना जारी राखिने कुशवाहाको भनाई छ ।हुरीले किसानको बालीमा क्षति पु¥याएको खबर पाएलगत्तै बाराका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीको टोलीले सिम्रौनगढ क्षेत्रको निरीक्षण गरेको थियो । प्रजिअ अधिकारीकै सुझावमा किसानहरूले क्षतिको विवरण सङ्कलन गरेर नगरपालिका कार्यालयमा बुझाएका थिए ।तर, मेयर किशोरीप्रसाद कलवारले किसानलाई राहत उपलब्ध गराउने बारेमा कुनै चासो नदेखाएको र पटक–पटकको आग्रहलाई समेत बेवास्ता गरेको पीडितहरूको गुनासो छ ।

Leave a Reply