आरके राजन
सिम्रौनगढ,आन्दोलनरत सिम्रौनगढका व्यपारी र किसानहरुले शनीवार पनि सिम्रौनगढमा प्रदर्शन गरेका छन ।
घरायसी प्रयोगको लागि मलखाद आयातमा रोक लगाएर प्रहरीले व्यापारी र किसानहरुमाथि ज्यादति गरेकोभन्दै सिम्रौनगढका व्यवसायीहरूले शनीवार तेस्रो दिन पनि प्रदर्शन गरेका हुन । उनीहरुले ३ दिनदेखि बजार बन्द गरेर प्रदर्शन गर्दैआएका छन ।

प्रहरीले भारतबाट सामान्य घरायसी सामान र कृषि उत्पादनका लागि आवश्यक मलखाद ल्याउन पनि नदिएको गुनासो गर्दै सिम्रौनगढ उद्योग वाणिज्य सङ्घका अध्यक्ष लालबाबु कुशवाहाले बाध्य भएर आन्दोलनमा उत्रिनुपरेको बताउनुभयो ।
सिम्रौनगढमा भएको प्रदर्शनको नेतृत्व गरिरहनुभएका कुशवाहाका अनुसार, सिम्रौनगढमा रहेको छोटी भन्सार कार्यालय बन्द गरिएको र त्यहाँका कर्मचारीहरूलाई पनि हटाइएको छ । भन्सार कार्यालय बन्द हुँदा स्थानीय बजार चलाउन कुनै आधार नरहेको उहाँको भनाई छ । उहाँले सरकारले सिम्रौनगढको छोटी भन्सार पुनः स्थापना गर्नुपर्ने माग गर्नुभएको छ ।

उहाँले किसानहरूलाई एक–दुई बोरा मलखाद ल्याउन पनि प्रहरी प्रशासनले दुःख दिइरहेको आरोप लगाउनुभयो । साथै, घर खर्च चलाउनका लागि ५-१० किलो सामान ल्याउँदा पनि प्रहरीले वीरगञ्ज भन्सारमा पठाउने गरेकोले आफूहरू निकै पीडित भएको उहाँको भनाई छ ।प्रहरी र राजस्वका कर्मचारीहरूले निरन्तर छापा मारेर व्यापारीहरूलाई हैरान पारेको र अर्थतन्त्र कमजोर हुँदै गएको कारण सिम्रौनगढका धेरै पसलहरू बन्द भइसकेको व्यवसायीहरूको भनाई छ । प्रशासनको दमनका कारण आफ्नो परिवार र व्यवसायको सुरक्षाका लागि आन्दोलनमा उत्रनुपरेको उनीहरूको भनाई छ ।

आन्दोलनकारीहरूले बारा क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य अच्युत मैनालीसँग यसबारे ध्यानाकर्षण गराएको र सांसद मैनालीले यसबारे संसदमा कुरा उठाउने आश्वासन दिएको कुशवाहले जानकारी गराउनुभयो । कुशवाहाका अनुसार सिम्रौनगढका नगर प्रमुखलाई पनि समस्या बारे जानकारी गराइएको छ । यद्यपि, स्थानीय नेता र जनप्रतिनिधिहरूको यस विषयमा खासै चासो नदेखाएको र उनीहरू भोटको बेला मात्रै देखिने गरेकोभन्दै अध्यक्ष कुशवाहाले असन्तुष्टि व्यक्त गरे । माग पूरा नभए आन्दोलन थप सशक्त बनाउने चेतावनी उनीहरूले दिएका छन् ।
आन्दोलनकारी व्यपारी र किसानले शुक्रवार सिम्रौनगढबाट चल्ने सवारी साधन संचालनमा रोक लगाएका थिए ।

बिहानैदेखि सिम्रौनगढस्थित कोल्डस्टोर नजिक गण्डक नहर चोकमा भेला भएका व्यापारीहरुले सडकमा टायर बालेर स्थानीय प्रहरी बिरुद्ध नाराबाजी गर्दै प्रदर्शन र चक्का जाम गरेका हुन । व्यवसायीहरुको आन्दोलनका कारण सिम्रौनगढ र जिल्लाका विभिन्न भागबाट कलैया र वीरगञ्जको लागि चल्ने र रौतहटको गौरबाट वीरगञ्ज र काठमाण्डौं जाने सवारी साधन प्रभावित भएका थिए ।

Leave a Reply