काठमाडौँ — नेकपा एमालेको दोस्रो विधान महाधिवेशनको तयारीसँगै अहिले पार्टीको सचिवालय बैठक च्यासलस्थित पार्टी मुख्यालयमा जारी छ। आजको बैठकमा विधान संशोधनसम्बन्धी विषयले औपचारिक बहसको रूप लिएको छ।

बैठकमा विशेषगरी दुई मुख्य बुँदामा गम्भीर छलफल भइरहेको छ—
१. पार्टीमा ७० वर्षे उमेरहद राख्ने कि नहटाउने?
२. एउटै पदमा दुई कार्यकाल पूरा गरेपछि तेस्रोपटक पुनः उम्मेदवारी दिने अधिकार हुने कि नहुने?

यी विषयहरूमा पार्टीभित्र स्पष्ट मतभेद देखिन थालेको छ। केही नेताहरू सुधारको पक्षमा देखिँदा, अरूले संगठनात्मक स्थायित्व र अनुशासनको सवाल उठाएका छन्।

यहीबीच, ‘वरिष्ठ उपाध्यक्ष’ पद हटाउने चर्चा पनि चुलिएको छ। हाल वरिष्ठ उपाध्यक्ष रहेका ईश्वर पोखरेल हाल पार्टी अध्यक्ष केपी शर्मा ओलीको विरोधी धारमा रहेको विद्या भण्डारी समूहमै देखिँदै आएका छन्। यस्तो अवस्थामा उक्त पद नै हटाउने प्रस्ताव आएको छ, जसले इतर समूहमा थप असन्तोष बढाएको छ।

इतर पक्षीय नेताहरू यो प्रस्तावप्रति असन्तुष्ट देखिएका छन् र यसलाई एकपक्षीय र पूर्वाग्रही प्रयासको रूपमा लिएका छन्।

एमाले सचिवालयको बैठक जारी छ र विधान संशोधनको विषयमा अझै केही दिन बहस चल्ने सम्भावना छ। निर्णयहरू कत्तिको सर्वसम्मत हुन्छन् वा बहुमतको बलमा अघि बढाइन्छ—अबको दिनले देखाउनेछ।

Leave a Reply