काठमाडौं । पूर्व मुख्यसचिव एकनारायण अर्यालमाथि ठगी तथा सङ्गठित अपराधसम्बन्धी कसुरमा अनुसन्धान गर्न प्रहरीले चार दिनको म्याद पाएको छ । काठमाडौं जिल्ला अदालतले शुक्रबार अर्याललाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बिहीबार मोरङको विराटनगरस्थित नेपाल–भारत सीमा क्षेत्रबाट अर्याललाई पक्राउ गरेको थियो । पक्राउपछि थप अनुसन्धानका लागि काठमाडौं ल्याइएका उनलाई म्याद थपको माग गर्दै शुक्रबार जिल्ला अदालतमा उपस्थित गराइएको थियो ।

सीआईबीले जारी गरेको प्रेस विज्ञप्तिअनुसार नेपाल र मलेसिया सरकारबीच भएको सम्झौताविपरीत गैरकानुनी रूपमा सङ्कलन गरिएको रकम मलेसिया पठाउने निर्णय प्रक्रियामा संलग्न रहेको आरोप अर्यालमाथि छ ।

प्रहरीका अनुसार अमेरिकी डलर ८३ लाख ७० हजार ४३९ दशमलव ९२ र बेलायती पाउन्ड ३७ लाख १७ हजार ९८० दशमलव ८० गरी कुल एक अर्ब ६९ करोड दुई लाख २४ हजार २६ रुपैयाँ ७६ पैसा गैरकानुनी रूपमा मलेसिया पठाइएको विषयमा अनुसन्धान भइरहेको छ ।

उक्त रकम विदेश पठाउने निर्णय प्रक्रियामा प्रत्यक्ष संलग्न रही आर्थिक लाभ लिने तथा अन्य व्यक्तिलाई लाभ दिलाउने कार्यमा समेत अर्यालको भूमिका रहेको प्रहरीको आरोप छ ।

सीआईबीले यस प्रकरणमा अनुसन्धानका लागि २०८३ मङ्सिर २ गते काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएको थियो ।

विकास रानाभाटसमेतको जाहेरीका आधारमा नेपाल सरकार वादी र कैलाश खड्कासमेत प्रतिवादी रहेको ठगी तथा सङ्गठित अपराधसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

अदालतबाट चार दिनको म्याद प्राप्त भएपछि प्रहरीले अर्यालमाथि थप अनुसन्धान अघि बढाउने भएको छ । अर्यालमाथि लागेका आरोपबारे अनुसन्धान जारी रहेको छ ।

Leave a Reply