वीरगञ्ज, १ साउन — बारा जिल्ला अदालतको नाममा नक्कली कागजात तयार गरी रोक्का जग्गा बिक्री गर्ने संजित चौधरी प्रहरीको फन्दामा परेका छन्। अदालतको छाप, दस्तखत, लेटरप्याड र चलानी नम्बर समेत नक्कल गरेर ठगी गरेका चौधरीलाई बुधबार पक्राउ गरी जिल्ला प्रहरी कार्यालय, बारामा बुझाइएको छ।

जितपुर सिमरा उपमहानगरपालिका–१ निवासी मोति धामी थारुका छोरा संजित चौधरीले अदालतकै पुरानो फुकुवा आदेशको नक्कल प्रयोग गरी मालपोत कार्यालयबाट रोक्का रहेको जग्गा फुकुवा गराएर बिक्री गरेका थिए।

श्रेस्तेदार लालबहादुर कार्कीका अनुसार चौधरीले स्क्यानमार्फत अदालतको छाप र दस्तखत प्रयोग गरी ठगीका लागि जालसाजी कागजात तयार गरेका थिए। ती कागजात देखाएर उनले सिमरा मालपोत कार्यालयबाट कित्ता नं. ५४३ को ०–७–० क्षेत्रफलको जग्गा दिपेन्द्र कुमार गुप्तालाई बिक्री गरेका थिए।

उक्त जग्गा पहिले पवन साहले चन्द्रिका धामीसँगको विवादका कारण अदालतबाट रोक्का गराएका थिए। रोक्का आदेश कायमै रहँदा नक्कली फुकुवा देखाएर चौधरीले अवैध रूपमा बिक्री गरेका हुन्।

संजित चौधरीले प्रारम्भिक बयानमा नक्कली कागजात आफैंले बनाएको स्वीकार गरिसकेका छन्। घटनामा संलग्न रहेका उनका पिता मोति धामी भने फरार छन्। प्रहरीले उनीमाथि खोजी कार्य तीव्र बनाएको जनाएको छ।

प्रहरीका अनुसार अदालतकै नाम दुरुपयोग गरी भएको यो जालसाजी गम्भीर प्रकृतिको अपराध हो, जसमा कडा कारबाही हुनेछ।

Leave a Reply