अर्घाखाँची । नेकपा एमालेका नेता तथा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी कारागारबाट रिहा भएपछि पहिलोपटक आफ्नो गृहजिल्ला अर्घाखाँची पुगेका छन् । गृहजिल्ला पुग्दा पार्टीका नेता तथा कार्यकर्ताले उनलाई स्वागत गरेका छन् ।
जिल्ला पुगेपछि रायमाझीले आफूले कठिन परिस्थितिबाट नयाँ अनुभव र आत्मविश्वास हासिल गरेको बताए । उनले आफूलाई समाप्त पार्ने प्रयास भए पनि त्यसबाट झन् बलियो भएर फर्किएको टिप्पणी गरे ।
उनले भने, ‘मलाई त अध्ययन गर्न पो पठाएजस्तो भइदियो । वास्तवमा भन्ने हो भने भट्टीमा हालिएकै हो, खरानी बनाउन खोजेकै हो । तर भट्टीबाट खारिएर स्टिल भएर आएजस्तो महसुस भएको छ । यसले मलाई आत्मविश्वास र शक्ति प्रदान गरेको छ ।’
कारागारमा बिताएको समयले देश निर्माण, विकास र राजनीतिक जिम्मेवारीबारे थप सोच्ने अवसर दिएको उनको भनाइ थियो । अब आफूमा देशलाई कसरी अगाडि बढाउने र विकास निर्माणका काम कसरी अघि बढाउने भन्ने आत्मविश्वास बढेको उनले बताए ।
रायमाझीले जिल्लावासीले आफूलाई न्याय गर्ने विश्वास व्यक्त गर्दै अर्घाखाँचीमा रोकिएका विकास निर्माणका कामलाई अगाडि बढाउन सक्रिय हुने प्रतिबद्धता पनि जनाए ।
उनले पुराना राजनीतिक दलहरूले समयअनुसार आफ्नो सोच, कार्यशैली र योजना परिवर्तन गर्नुपर्ने धारणा राखे । पुराना पार्टीहरू विचार, विधि, योजना र कार्यक्रमका हिसाबले नयाँ बन्न नसके आगामी दिनमा अघि बढ्न कठिन हुने उनको भनाइ थियो ।
उनले भने, ‘हामी पुराना पार्टीहरू विचारले नयाँ हुनुपर्छ । विधि, योजना, कार्यक्रम र सोच्ने चिन्तनले नयाँ नभई अब गर्न सकिने अवस्था छैन । पुरानो तरिकाले अघि बढ्न सकिने स्थिति छैन ।’
युवाहरू अध्ययनपछि विदेशिने क्रम बढेको उल्लेख गर्दै उनले नयाँ पुस्ताको अपेक्षा र सोचअनुसार राजनीतिक दलहरूले आफूलाई परिवर्तन गर्नुपर्ने बताए ।
रायमाझीले आफू जिल्लाको विकासमा निरन्तर सक्रिय रहने र जीवनभर देश तथा जनताको सेवामा समर्पित हुने प्रतिबद्धता व्यक्त गरे ।
















