ललितपुर । नेकपा एमालेकी सचिव एवं सांसद पद्मा अर्यालले नेपालको निर्वाचन प्रणाली अझै पनि पूर्ण रूपमा निष्पक्ष र स्वच्छ बन्न नसकेको टिप्पणी गरेकी छन् । उनले आफूले निर्वाचन लड्ने क्रममा बुथ कब्जा र धाँधलीका घटना भोगेको तथा त्यससम्बन्धी प्रमाण आफूसँग सुरक्षित रहेको दाबी गरेकी छन् ।

शुक्रबार ललितपुरमा निर्वाचन आयोगले सरोकारवालासँग आयोजना गरेको छलफलमा बोल्दै अर्यालले आफ्नो निर्वाचन क्षेत्रमा अस्वाभाविक रूपमा ९९ प्रतिशतसम्म मतदान भएको उल्लेख गरिन् । तर, त्यस्ता घटनामा उजुरी र प्रमाण हुँदाहुँदै पनि कुनै प्रभावकारी उपचार हुन नसकेको उनको गुनासो थियो ।

‘हाम्रो निर्वाचन क्लिन छैन । म चुनाव लड्दा मैले के भोगिनँ रु एक सयमा ९९ प्रतिशत भोट आजसम्म खसेकै छैन, मेरो निर्वाचन क्षेत्रमा खस्यो तर उपचार त भएन,’ उनले भनिन् ।

आफूसँग बुथ कब्जा र निर्वाचनमा भएको धाँधलीसम्बन्धी तथ्य तथा प्रमाण रहेको उल्लेख गर्दै उनले कुन ठाउँमा कसरी अनियमितता भयो भन्ने विवरणसमेत सुरक्षित रहेको बताइन् ।

अर्यालले नेपालको निर्वाचन प्रक्रियामा अझै पनि धनबल, बाहुबल र सञ्चारमाध्यमको प्रभाव कायम रहेको आरोप लगाइन् । पैसाको चलखेल, शक्तिको दुरुपयोग र सञ्चारमाध्यमको प्रभावले निर्वाचनको निष्पक्षतामाथि प्रश्न उठ्ने गरेको उनको भनाइ थियो ।

‘आज पनि निर्वाचन मनीले हुन्छ, मसलले हुन्छ र मिडियाले प्रभावित हुन्छ,’ उनले टिप्पणी गरिन् ।

निर्वाचन प्रणालीमा सुधार ल्याउन सबैभन्दा पहिले विद्यमान समस्या र विकृतिको पहिचान गर्नुपर्नेमा उनले जोड दिइन् । समस्याको वास्तविक अवस्था नबुझी समाधान खोज्न नसकिने भन्दै अर्यालले निर्वाचनसम्बन्धी कमजोरी पहिचान गरेर सुधारका उपाय अवलम्बन गर्नुपर्ने बताइन् ।

छलफलमा उनले नागरिक जहाँ बसे पनि आफ्नो मताधिकार प्रयोग गर्न पाउने व्यवस्था सुनिश्चित गर्नुपर्ने धारणा राखिन् । आफूले रोजेको प्रतिनिधिलाई मतदान गर्न पाउने नागरिकको अधिकार सुनिश्चित गर्न निर्वाचन आयोगले थालेको पहलको प्रशंसा गर्दै उनले आवश्यक सहयोग गर्न आफूहरू तयार रहेको बताइन् ।

यद्यपि, अन्तरजिल्ला तथा अन्तरदेशीय मतदानको व्यवस्था कार्यान्वयन गर्दा भावनात्मक पक्षसँगै व्यावहारिक र कानुनी जटिलतालाई पनि ध्यान दिनुपर्ने उनको सुझाव थियो ।

काठमाडौँमा बसोबास गर्ने कर्णालीका मतदाताले काठमाडौँबाटै मतदान गर्ने व्यवस्था लागू गर्दा प्रत्येक मतदान केन्द्रमा ७७ जिल्लाका छुट्टाछुट्टै मतपेटिका राख्नुपर्ने अवस्था आउन सक्ने उनले उदाहरण दिइन् । पालिकास्तरलाई समेत समेट्ने हो भने मतपेटिकाको व्यवस्थापन अझ जटिल हुने उनको भनाइ थियो ।

त्यसैले अन्तरजिल्ला तथा अन्तरदेशीय मतदानको व्यवस्था अघि बढाउँदा सम्भावित प्राविधिक, प्रशासनिक र कानुनी कठिनाइको पूर्वतयारी गर्न उनले निर्वाचन आयोगलाई सुझाव दिएकी छन् ।

Leave a Reply