बसन्त लामा
सिगौंल,निजगढ नगरपालिका १ सिगौलबाट एक लाखभन्दा बढीको अवैध सालको काठ बरामद गरेको छ ।
निजगढ सव डिभिजन वन कार्यालय र तामागढी सव डिभिजन वन कार्यालयबाट गएको सशस्त्र वन रक्षक र वन कर्मचारीको टोलीले बुधवार छापामारी गर्दा १ लाख १५ हजार मूल्य बरावरको सालको चिरान काठ र १ थान गोलाई काठ बरामद भएको डिभिजन वन कार्यालय बाराले जनाएको छ ।
धन्सार खोला नजिकै किनारमा रहेको एउटा टहरामा लुकाइछिपाई राखेको सूचनाको आधारमा छापामारी गर्दा सो परिमाणको काठ बरामद भएको वन कार्यालयले जनाएको छ । सो छापामारीमा थप मद्दतको लागि सिगौल अस्थायी प्रहरी चौकीका प्रहरी समेतको सहयोग रहेको छ । डेढ महिनायता जिल्लाको विभिन्न स्थानबाट करिब १० लाख बरावरको काठ वन कार्यालयले बरामद गरेको छ ।

















