कीर्तिपुर
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपतिबाट संविधानको पालना हुन नसकेको आरोप लगाउनुभएको छ ।
पार्टी निकट अखिल नेपाल किसान महासंघ क्रान्तिकारीको तेस्रो राष्ट्रिय भेलालाई आज राजधानीमा सम्बोधन गर्दै अध्यक्ष दाहालले राष्ट्रपतिबाट भएको यो कार्यलाई सामान्यरुपमा लिन नमिल्ने धारणा पनि राख्नुभयो ।
अध्यक्ष दाहालले मुलुकमा ऐतिहासिक जनआन्दोलन र जनयुद्धका उपलब्धिलाई संस्थागत हुन नदिने शक्ति अझै क्रियाशील रहेको बताउनुभयो ।
उहांले गत वर्ष संसद् विघटनबाट सुरु भएको प्रतिगमन त्यति बेलाका लागि परास्त गरिए पनि त्यो अझै नरोकिएको समेत बताउनुभयो । यसका विरुद्धमा आन्दोलनको तयारी गर्न अध्यक्ष प्रचण्डले किसानलाई आग्रह गर्नुभयो ।
हामीले आवाज उठाएनौं भने प्रतिगमनको फंडाले फेरि डस्न सक्छ, किनकि यसले ऐतिहासिक उपलब्धिविरुद्ध रातदिन प्रहार र षडयन्त्र गरिरहेको छ, उहांले भन्नुभयो । यसका साथै अध्यक्ष दाहालले प्राप्त उपलब्धिलाई सिद्ध्याउन नेतृत्वमाथि प्रहार गर्ने क्रममा आफूमाथि भ्रष्टाचारका साथै अन्य खालका झुटा प्रचार केन्द्रित गरिएको बताउनुभयो ।
भारत गएका बेला हुंदै नभएको भेटलाई पनि भेट भयो भन्दै नितान्त झुटा प्रचार गरिएको छ’, अध्यक्ष दाहालको भनाइ थियो । आफूले दुई पटक सरकारको नेतृत्व गर्दा ‘भ्रष्टाचार भयो’ भन्ने अवसर कसैलाई नदिएको भन्दै उहांले अहिले करोडौं खर्च गरेर आफू विरुद्ध प्रचार केन्द्रित गरेको बताउनुभयो ।
अध्यक्ष दाहालले वामपन्थी शक्तिको एकताका लागि आफू क्रियाशील रहिरहेको जानकारी पनि सम्बोधनका क्रममा दिनुभएको थियो
भेलामा नेकपा (एकीकृत समाजवादी) निकट अखिल नेपाल किसान महासंघका नेता बलराम बांस्कोटाले दाहाललाई वामपन्थी पार्टीबीच एकता गर्ने कार्यमा खुट्टा नकमाउन आग्रह गर्नुभएको थियो ।
भेलामा महासंघ आबद्ध २४ वटा किसान सम्बद्ध घटक स·ठनको सहभागिता रहेको छ । रासस