रौतहट,जङ्गली हात्तीको आतङ्कबाट आतङ्कित रौतहटको चन्द्रपुर नगरपालिका– २ जुडिबेलाका बासिन्दाले हात्ती नियन्त्रण गर्न दबाब दिँदै आइतवार डिभिजन वन कार्यालय रौतहट घेराउ गरेका छन् ।हात्तीले दिनहुँजसो स्थानीयको घरमा क्षति पु¥याउने र बाली खाएर दुःख दिँदै आएकोमा शनिवार राति गाउँका चार जनाको घर एकैपटक भत्काएको भन्दै आक्रोशित जुडिबेलावासीले हात्ती नियन्त्रणमा लिई अन्यत्र सार्न माग राख्दै वन कार्यालय घेराउ गरेका हुन् ।
स्थानीय शङ्कर चौधरीका अनुसार शनीवार राति मात्र पाँच वटा हात्तीको समूह जुडिबेलामा पसेर स्थानीय दीपा बल, दिलबहादुर राई, लालबाबु मुक्तान र किरण बम्जनको घर भत्काएको छ । स्थानीय जाग्राम बसेको कारण मानवीय क्षति भने हुन सकेन ।
हात्तीले धनजनमा क्षति नपुगोस् भन्नका लागि स्थानीय रातभर जाग्राम बस्ने गरेका छन् । हात्ती आतङ्कबारे डिभिजन वन कार्यालयलाई पटक–पटक जानकारी गराउँदा पनि कार्यालयले बेवास्ता गरेको स्थानीयको भनाई छ ।
“वन कार्यालयको उदासीनताको कारण हात्तीको रजगज बढेको हो । समय मै हात्ती नियन्त्रण गरी वन्यजन्तु आरक्षण पर्सालाई हस्तान्तरण गरेको भए स्थानीयको घर भत्किने थिएन । वन कार्यालयले घटनाको अवलोकन गरी क्षतिपूर्ति दिनुपर्छ ।” स्थानीय समाजसेवी राजु पाण्डे भन्नुहुन्छ ।
कार्यालय घेराउ गर्न पुगेका स्थानीयले तत्कालै हात्ती नियन्त्रणमा लिनुपर्ने, पीडित परिवारलाई क्षतिपूर्ति दिनुपर्ने र दीर्घकालीन समाधानका लागि ठोस रणनीति ल्याउनुपर्ने माग गरेका छन् । गाउँलेहरु कार्यालय प्रमुख हेमन्तप्रसाद साहलाई यथाशीघ्र माग सुनुवाइ नभएमा सशक्त आन्दोलन गर्ने चेतावनी दिएर फर्किएका छन् ।डिभिजन वन प्रमुख साहले वन कार्यालय हात्ती नियन्त्रणका लागि प्रयासरत रहेको र त्यसको लागि निकुञ्ज र सम्बन्धित निकायसँग समन्वय भइरहेको जानकारी दिनुभएको छ ।


















