वीरगन्ज,तराई–मधेसको मेरुदण्ड मानिएको हुलाकी राजमार्ग विस्तारको ६५ प्रतिशत काम सम्पन्न भएको छ । पर्सा, बारा सहित तराई–मधेसका २१ वटा जिल्ला जोड्ने बहुप्रतीक्षित राष्ट्रिय गौरवको हुलाकी राजमार्गको हालसम्म निर्माण प्रगति ६५ प्रतिशत र वित्तीय प्रगति ७० प्रतिशत पुगेको हुलाकी राजमार्ग आयोजना निर्देशनालयले जनाएको छ ।
आर्थिक २०६५÷६६ मा आयोजना निर्माण थालनी गर्दा आर्थिक वर्ष २०७४÷०७५ मै सम्पन्न गर्ने प्रक्षेपण गरिएको थियो । तर पछि त्यसलाई संशोधन गरेर आर्थिक वर्ष २०७९÷०८० पु¥याइएको छ । आयोजनाअन्तर्गत गत आर्थिक वर्षमा २०० किलोमीटर सडक कालेपत्रको लक्ष्य लिइएकोमा २ सय ८ किलोमिटर सडक कालोपत्रे गरिएको थियो । कोभिडको त्रासकाबीच पनि लक्ष्यभन्दा बढी काम भएको निर्देशनालयका प्रमुख रोहितकुमार बिसुरालले बताउनुभयो । उहाँका अनुसार चालु आर्थिक वर्षमा हुलाकी राजमार्गमा १५ वटा पुल सम्पन्न गर्ने लक्ष्य लिइएकोमा सातवटा सम्पन्न भएको छ । लक्ष्यभन्दा बढी नै सङ्ख्यामा पुल सम्पन्न भए पनि वर्षाको समयमा बाढीले क्षति गर्नसक्ने भएकाले निर्माण सम्पन्न घोषणा नगरिएको उहाँले बताउनुभयो ।
हुलाकी राजमार्ग निर्माणको आयोजना सम्पन्न हुने अवधि नजिकिँदै गर्दा काम समयमा सकिन्छ र भन्ने शङ्का शुरु भएको छ । कतिपय स्थानमा अझै पनि सडकको रेखाङ्कनको विषय टुङ्गो लाग्न बाँकी छ । वन क्षेत्रमा सडक निर्माणका लागि अनुमति आउन बाँकी भएकाले समयमा काम सकिने अवस्था देखिएको छैन । अहिले पनि झण्डै २०० किलोमिटर सडक निर्माणाधीन नै रहेको आयोजनाले जनाएको छ ।
पर्सा जिल्लामा पर्ने ६० किलोमिटरको हुलाकी राजमार्गको काम पनि पुरा सकिएको छैन । वीरगन्जको पावरहाउस चोकदेखि जिराभवानी गाँउपालिकाको चमरी होल सम्म ३० किलोमिटर र चमरी होलदेखि ठोरी गाँउपालिकाको चौतारासम्म ३० किलोमिटर गरि ६० किलोमिटर हुलाकी सडकमध्ये केहि ठाँउमा अझै पनि काम सकिएको छैन । राणाकालमा चिठ्ठी आदानप्रदानका लागि प्रयोग हुने भारतीय सीमा नजिकैको सडकलाई नै डेढ दशक पहिले हुलाकी राजमार्ग नामाकरण गरिएको थियो ।