कलैया,बाराको कलैयामा बुधवार बिहान सर्वपक्षीय सद्भाव ¥याली हुने भएको छ । जिल्ला प्रशासन कार्यालय बाराको अगुवाईमा बिहान ७ः३० बजे सद्भाव ¥याली हुनलागेको हो ।जिल्ला प्रशासन कार्यालय परिसरबाट निस्कने सद्भाव ¥यालीमा सहभागी हुन् कार्यालयले अपिल गरेको छ । पछिल्लो समय केही जिल्लामा सामाजिक सद्भाव बिग्रने गतिविधि देखिएको भन्दै कार्यालयले सामाजिक एकता बलियो रहेको सन्देश प्रवाह गर्न सद्भाव ¥यालीको आयोजना गरेको हो ।
‘जिल्ला प्रशासन कार्यालय परिसर कलैयाबाट सर्वपक्षीय सद्भाव ¥याली आयोजना गरिएको हुँदा सबै राजनीतिक दल, जनप्रतिनिधि, धार्मिक संघसंस्था, नागरिक समाज, सञ्चारकर्मी, शिक्षक, कर्मचारी, सुरक्षाकर्मी, स्थानिय क्लबलगायत आम बारा निवासी दिदीबहिनी, दाजुभाइलाई ¥यालीमा उपस्थित भई सामाजिक सद्भाव कायम गर्ने कार्यमा योगदान पु¥ याउनुहुन हार्दिक अनुरोध छ’ जिल्ला प्रशासन कार्यालय बाराको अपिलमा भनिएको छ ।त्यसैगरी धार्मिक र सामाजिक सद्भाव बिथोल्ने प्रयास गर्नेमाथि कानुनी कारबाही गर्न बारामा क्रियाशील राजनीतिक दलहरुले स्थानीय प्रशासनसंग आग्रह गरेका छन ।
दलहरुका प्रतिनिधिहरुले मंगलवार संयुक्त विज्ञप्ति निकालेर यस्तो आग्रह गरेका हुन । दलहरुको तर्फबाट सार्वजनिक गरिएको विज्ञप्तिमा, ‘सामाजिक एवंम धार्मिक सद्भाव बिथोल्ने गतिविधि तथा क्रियाकलाप समाजिक सञ्जालमा पोष्ट गर्ने र शेयर गर्ने व्यक्तिहरुलाई उकास्ने जस्ता गतिविधि गर्ने व्यक्तिहरुलाई कानुन बमोजिम कारबाही गर्न सम्बन्धित निकायलाई अनुरोध गर्दछौं ।’ भनिएको छ ।पछिल्लो समयमा तराईका जिल्लाहरुमा सामाजिक सद्भाव एवंम धार्मिक सहिष्णुतामाथि खलल पुग्ने गरी भएका गतिविधिहरुप्रति गम्भीर ध्यानकर्षण भएको भन्दै दलका प्रतिनिधिहरुले संयुक्त हस्ताक्षर गरेर सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ– ‘हामी सबै धर्म, संस्कृतिप्रति समान सद्भाव राख्दछौं । बारा जिल्लामा क्रियाशील सम्पूर्ण राजनीतिक दल, नागरिक समाज, धार्मिक संघ संस्था तथा सम्पूर्ण बारा जिल्लाबासी आम नागरिकहरुमा कुनै पनि प्रकारले सामाजिक एवंम धार्मिक सदभाव बिथोल्ने गतिविधि तथा क्रियाकलाप नगर्नुहुन नगराउनुहुन हार्दिक अनुरोध छ ।’ विज्ञप्तिमा त्यस्ता गतिविधिमा संलग्न व्यक्तिहरु कानुनी दायरामा पर्ने भएकोले त्यस्ता व्यक्तिहरुको सूचना सुरक्षा निकायलाई जानकारी गराउनुहुन र उक्त विषयमा सजग रहनुहुन समेत सर्वसाधारणसंग आग्रह पनि गरिएको छ ।
विज्ञप्तिमा नेपाली काग्रेसका चन्द्रिकाप्रसाद गुप्ता, नेकपा एमालेका जिल्ला अध्यक्ष विनोद साह, नेकपा माओवादी केन्द्रका मुकेश साह, जनता समाजवादी पार्टीका रामबाबु यादव, रास्वपाका चन्दनकुमार स्वर्णकार, राष्ट्रिय प्रजातन्त्र पार्टीका गिरिधारीप्रसाद चौधरी, जनमत पार्टीका शिवनाथ प्रसाद पटेल, नेकपा एकिकृत समाजवादीका विरेन्द्रप्रसाद यादव, नागरिक उन्मुक्ति पार्टीका रामचन्द्र चौधरी, नेपाल मजदुर किसान पार्टीका मुक्ति यादव, विवेकशील साझा पार्टीका सुशिल साह र नेपाल जनता दलका गोपाल दासले हस्ताक्षर गर्नुभएको छ ।केही दिनयता छिमेकी जिल्ला रौतहट र पर्सामा समेत धार्मिक द्वन्द र हिंसा फैलिनसक्ने संकेत देखिएपछि बारामा क्रियाशील राजनीतिक दलले सामाजिक र धार्मिक सहिष्णुता कायम राख्न सर्वसाधारणसंग अपील गरेका हुन ।


















