निजगढ,निजगढमा आइतवार वन संरक्षणको क्षेत्रका काम गर्ने सरोकारवालाहरुको समन्वय गोष्ठी तथा बैठक सम्पन्न भएको छ ।डिभिजन वन कार्यालय बाराको आयोजनामा भएको सो कार्यक्रमका प्रमुख अतिथि सामुदायिक वन उपभोक्ता महासंघ बाराका अध्यक्ष रामजी बजगाईले जिल्लामा सामुदायिक वन समूह र साझेदारी वन व्यवस्थापन समितिहरुले वन संरक्षणको क्षेत्रमा सन्तोषजनकरुपले काम गरेको बताउनुभयो ।
उहाँले सामुदायलाई वन हस्तान्तरण भएपछि जिल्लाको उत्तरी भागका निजगढ, जीतपुरसिमरा नगरपालिका क्षेत्रमा वनको हैसियत राम्रो बन्दै गएकोभन्दै दक्षिणतर्फ साझोदारी वन समितिले पनि संरक्षणको क्षेत्रमा उल्लेखनीय काम गरेको दाबी गर्नुभयो ।अध्यक्ष बजगाईले उपभोक्ताको तहबाट वन संरक्षणमा इमान्दारिताका साथ काम हुदै गर्दा मुख्य सरोकारवाला निकाय वन कार्यालयका कर्मचारीहरुबाट भने अपेक्षित परिणाम पाउन नसकिएको गुनासो पनि गर्नुभएको थियो । ‘वन संरक्षण गर्न उपभोक्ताहरुले धेरै ठूलो मेहेनत गरेका छन, उहाँले भन्नुभयो, तर कर्मचारीहरुले भने आशा गरेअनुसार काम गर्न सकेका छैनन ।’ वन सुरक्षाकर्मीहरुको जागिरे मानसिकता र झारा टार्ने प्रवृत्तिले वन संरक्षणको क्षेत्रमा सोचेअनुरुपमो परिणाम आउन नसकेको पनि बताउनुभयो ।
बकैया नागमणी सामुदायिक वन उपभोक्ता समूहको सभा हलमा भएको सो कार्यक्रममा सहभागीहरुले वन संरक्षणको लागि अपनाउनुपर्ने उपायहरुको बारेमा सुझाव दिएका थिए ।पथलैया सव डिभिजन वन कार्यालयका प्रमुख विमल ठाकुरको अध्यक्षतामा भएको सो कार्यक्रममा निजगढ क्षेत्रका सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारी, संचारकर्मी, सुरक्षाकर्मी र वन कर्मचारीहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण वन अधिकृत शर्मिला नेपालले गर्नुभएको थियो ।


















