वीरगञ्जको मुटुमा रहेको विपी उद्यान पार्क, जसलाई बिभिन्न नामले पनि पुकार्ने गरिन्छ । कहिले शहिद पार्क त कहिले के भन्ने गरिन्छ । जे भनेपनि विपी पार्क कै नाउँले यो स्थान चिनिन्छ र यसको पर्यटकीय दृष्टिकोणबाट वीरगञ्जमा महत्व छ । यो वीरगञ्जको गहना पनि हो ।यसलाई कुरुप होइन, सुन्दर बनाउनुपर्दछ । यो नगरवासीको पनि कर्तव्य हो । नगरवासीले आफ्नो नगरका यस्ता सम्पदाको संरक्षण नगर्ने हो भने कसले गर्ने ? खालि स्थानीय सरकारले मात्रै काम गरोस् वा यसको मात्रै यो कर्तव्य र जिम्मेवारी हो भन्ने सोच पनि नगरवासीले त्याग्न जरुरी छ ।

विपी उद्यानका लागि वीरगञ्ज महानगरपालिकाले केही प्रयास गर्दैछ । हुन त् यस्तो प्रयास विगतमा पनि भएको थियो तर कयौं कारणले यो सफल हुनसकेको छैन । वीरगञ्जमा एउटा भव्य पार्क तयार भयो भने त्यसले नगरकै सौन्दर्यता बढाउने हो । यति कुरा सोचौं, केवल तरकारी बिक्री गर्न पाइएन अथवा केहीलाई आश्रय दिन पाइएन वा दिइन भनेर विरोध नगरौं ।

खान नै नपाउने भए, बस्नकै लागि समस्या भए अनि तरकारी बिक्री गरेर जीविका चलाउनेहरुका लागि समस्या नै भए स्थानीय सरकारले पहल गर्नेछ र गर्नु पनि पर्दछ तर यसो भन्दैमा महानगरपालिकाले लिएको नीतिको विरोध गर्नु वा अवरोध सृजना गर्नु जायज कुरा होइन ।

यसले कसैको हित गर्दैन र वीरगञ्जवासीलाई नै घाटा हुने हो । त्यसैले विपी पार्कलाई व्यवस्थित बनाऊ र यसमा सबैले साथ पनि दिऔं ।

Leave a Reply