निजगढ,निजगढ नगरपालिकाले ढल निकाससहितको व्यवस्थित नाला निर्माणको लागि शहरी खानेपानी तथा सरसफाइ क्षेत्रगत आयोजना व्यवस्थापन कार्यालय काठमाण्डौंमा अनुरोध गरेको छ ।नगरपालिकाले बिहीवार खानेपानी मन्त्रालय अन्तर्गतको सो कार्यालयमा पत्राचार गरेर ढलसहितको व्यवस्थित नाला निर्माणको लागि बजेट व्यवस्थापन गर्न आग्रह गरेको हो ।आयोजनाले गत महिना निजगढको वडा नम्बर ६, ७, ८ र ९ मा ढलसहितको नाला निर्माणको लागि प्रारम्भिक सर्भे गरिसकेको अवस्थामा नगरपालिकाले आयोजना लागू गर्न आग्रहपत्र पठाएको हो ।निजगढ नगरपालिका कार्यालयले आयोजनालाई पत्राचार गरेपछि निजगढ नगरपालिकाका ४ जना वडा अध्यक्षहरुले पनि सो आयोजना निर्माण गर्ने क्रममा आफ्नोतर्फबाट सहजीकरण गर्ने प्रतिवद्धतासहित आयोजना कार्यालयमा पत्राचार गरेका छन ।वडा नम्बर ५ का वडा अध्यक्ष घनश्याम तिमल्सिना, वडा नम्बर ७ का टेकबहादुर लामा, वडा नम्बर ८ का सोर्ण लामा र वडा नम्बर ९ का वडा अध्यक्ष रामचन्द्र कटुवालले आयोजना कार्यालयमा पत्रपठाएर आयोजनाको लागि आवश्यक बजेट बिनियोजन गरिदिन र आयोजना संचालनको क्रममा आफुहरुले सहजीकरण गर्ने प्रतिवद्धता जनाएका हुन ।वडा कार्यालयबाट पठाइएको पत्रमा बर्षायामको भल पानीको निकास अभावमा मानवीय वस्तीमा क्षति पुग्ने गरेको भन्दै ढल निकाससहितको व्यवस्थित नाला निर्माण कार्यको लागि आवश्यक बजेट विनियोजन गरिदिन सिफारिस साथ अनुरोध गरिन्छ भनिएको छ ।त्यसैगरी नाला निर्माण कार्यमा वडा कार्यालयबाट गर्नुपर्ने सहजीकरण गर्ने प्रतिबद्धता पनि व्यक्त गरिएको वडा नम्बर ९ का वडा अध्यक्ष रामचन्द्र कटुवालले जानकारी दिनुभयो ।

















