कलैया,असार महीना सकिन लाग्दा समेत बारा जिल्लामा ४० प्रतिशत जमिनमा मात्रै धान रोपाइँ सकिएको छ ।
शुक्रवारसम्म मधेस प्रदेशका ८ जिल्लामा ३३ दशमलव ७८ प्रतिशत मात्रै रोपाइँ सकिदा बारामा भने ४० प्रतिशत क्षेत्रमा धान रोपिएको हो ।मधेस प्रदेशमा सबैभन्दा बढी पर्सामा र सबैभन्दा कम सप्तरीमा रोपाइँ भएको छ ।

। पर्सामा जिल्लामा ३९ हजार ७३१ हेक्टर जमिनमा धान खेती हुँदै आएकोमा छ । जिल्लामा ३९ हजार ७३१ हेक्टरमध्ये झण्डै तीन चौथाई जमिनमा रोपाइँ भइसकेको हो । सप्तरीमा भने ८१ हजार ६६८ हेक्टर कुल खेतीयोग्य जमिनमध्ये ६८ हजार हेक्टरमा धान खेती हुँदै आएको छ ।मधेस प्रदेश कृषि विकास निर्देशनालयका वरिष्ठ बागवानी अधिकृत प्रदीपकुमार यादवका अनुसार पर्सामा ७३ दशमलव ३४ प्रतिशत जमिनमा धान रोपाइँ हुँदा सप्तरीमा १६ प्रतिशत जमिनमा मात्र रोपाइँ भएको हो ।

त्यसैगरी धनुषामा २५ प्रतिशत, सिरहामा २९, रौतहटमा ४५, सर्लाहीमा ४० र महोत्तरीमा १८ प्रतिशत जमिनमा धान रोपाइँ भइसकेको छ ।मधेसमा कुल ५ लाख ४२ हजार ५८० दशमलव ७८ हेक्टर खेतीयोग्य जमिन छ । जसमध्ये ३ लाख ७२ हजार ६४५ हेक्टरमा धान खेती हुँदै आएको छ । तर, २५ प्रतिशत जमिनमा पनि सिँचाइ नभएको अधिकृत यादवले बताउनुभयो । उहाँका उहाँका अनुसार मधेस प्रदेशमा कुल खेतीयोग्य जमिनको ३ लाख ७२ हजार ६४५ हेक्टर जमिनमा धान खेती हुँदै आएकोमा शुक्रवारसम्म १ लाख २५ हजार ८८८ दशमलव ६ हेक्टर अर्थात् ३३ प्रतिशत जमिनमा रोपाइँ भइसकेको छ ।

मधेस प्रदेशमा पर्याप्त पानी नपर्दा यो वर्ष धान रोपाइँमा ढिलाइ भएको हो । वर्षा हुन्छ की भन्ने आश गर्दागर्दै धानको ब्याड सुक्न थालेपछि किसान निराश छन् । प्रदेश सरकारले मधेसलाई सुख्खाग्रस्त क्षेत्र नै घोषणा गरिसकेको छ । अन्नको भण्डार मानिने मधेशमा धान रोपाईं हुन नसकेको र रोपाइँ भएका खेतमा समेत धाँजा फाट्न थालेपछि सरकारले सुख्खाग्रस्त क्षेत्र घोषणा गरेको हो ।समयमै रोपाइँ हुननसक्दा यो वर्ष धानको उत्पादनमा कमी आउनसक्ने अनुमान गरिएको छ ।

मधेश सुक्खाग्रस्त क्षेत्र घोषणा
जनकपुरधाम,मधेश प्रदेश सरकारको बिहीवार बसेको मन्त्रिपरिषद बैठकले प्रदेशलाई सुक्खाग्रस्त क्षेत्रको रूपमा घोषणा गरेको छ ।देशका विभिन्न भागमा बर्षापछि आएको बाढी र पहिरोले जनजीवन प्रभावित भइरहँदा मधेस प्रदेश सरकारले भने मधेशलाई सुक्खाग्रस्त क्षेत्र घोषणा गरेको हो ।

मनसुनको समयमा पनि वर्षा नहुँदा धान रोपाइमा समस्या उत्पन्न भएको र रोपिएका खेतमा पनि धाँजा फाट्न थालेकाले सुक्खाग्रस्त क्षेत्र घोषणा गरेको मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जानकारी दिनुभयो ।
बैठकले सुक्खाग्रस्त मधेश प्रदेशका किसानहरूका लागि आवश्यक विशेष राहत प्याकेज घोषणा गर्न संघीय सरकारसँग आग्रह समेत गरेको छ । यस्तै कृषि क्षेत्रमा क्रियाशील दातृ निकायहरूलाई पनि आवश्यक सहयोग गर्न मधेश प्रदेश सरकारले आह्वान गरेको छ । मधेश सरकारले खानेपानी संकट समाधानमा संघीय खानेपानी मन्त्रालयसँग सहयोगको अपिल गरेको छ ।

Leave a Reply