सिकिन्द्र साह

सिम्रौनगढ,बारा जिल्लाको सिम्रौनगढ विद्युत वितरण उपकेन्द्रले महशुल नतिरेको भन्दै आइतबार सिम्रौनगढ नगरपालिका वडा नम्बर १० देवापुरटेटाका प्रसाद यादव, महेन्द्र साह, नारायण राय यादव, भिखर ठाकुर, भुइल राय यादव, बनोद साहको घरमा जडान गरिएको विद्युत लाइन काटेको छ ।

विद्युतको महशुल चुक्ता गर्न रेडियो र पत्रपत्रिकामार्फत पटकपटक सूचना गर्दा पनि समयमै बिजुलीको बिल भुक्तानी नगरेपछि लाइन काटिएको हो । उनीहरुको नाममा विद्युत प्राधिकरणमा ५० हजार भन्दा बढि रकम भुक्तानी गर्न बाँकी छ । रकम भुक्तानीको लागि अनलाईन वा कार्यलयको काउण्टमा आएर बुझाउन वितरण उपशाखाले बिगत लामो समयदेखि ताकेता गर्दै आएको सिम्रौनगढ विद्युत वितरण केन्द्रका प्रमुख मनोजकुमार झाले बताउनुभयो । बारम्बार ताकेता गर्दा पनि महशुल नबुझाएपछि लाइन काटिएको उहाँले बताउनुभयो ।

वितरण केन्द्रबाट सिम्रौनगढ, पचरौता नगरपालिका र आदर्शकोतवाललगायत गाउँपालिकामा बिजुली आपुर्ति हुदै आएको छ । केन्द्र अन्तर्गत अझै पनि दर्जनौं ग्राहकले महशुलबापतको करोडौं रुपैया भुक्तानी गर्न बाँकी रहेको कार्यालय प्रमुख झाले जानकारी दिनुभयो । उहाँले ५० हजार भन्दामाथि बक्यौता हुने ग्राहकको घरमा जडान गरिएको विद्युत लाइन काटने नीति लिएको पनि बताउनुभयो ।

Leave a Reply