काठमाडौं । रसुवाको भोटेकोशी नदी (तिब्बततर्फ ल्हेन्दे खोला भनिने) मा आएको बाढीमा परी बेपत्ता भएका मध्ये थप दुई जनाको शव फेला परेको छ ।एक जनाको चितवनको ईच्छाकामना गाउँपालिका– ६ स्थित कालीखोलामा र अर्का व्यक्तिको नवलपरासी जिल्लाको विनय त्रिवेणी गाउँपालिका– ७ स्थित व्यारेज पुलमा शव फेला परेको हो ।
यससँगै बाढीमा परेर मृत्यु हुनेको संख्या ११ पुगेको छ । यसअघि ४ जनाको शव र ५ जनाको मानव अंग विभिन्न स्थानमा फेला परेका थिए ।
नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीका सुरक्षाकर्मीको टोलीले भोटेकोशी र त्रिशुलीको दुवै किनारामा खोजीकार्य जारी राखेको छ ।बाढिको कारण बन्द भएको सडक अवरुद्ध भएकाले सशस्त्र प्रहरी लगायतको सुरक्षा फौजले अस्थायी पदमार्ग बनाई थप १ सय ४३ जनालाई सुरक्षित गन्तब्यतर्फ पठाएको छ । हालसम्म बाढीको चपेटमा परेका १२ जनाको हेलिकोप्टरमार्फत उद्धार भएको छ ।बाढीले तिब्बततर्फ अड्किएका ९१ जना नेपालीलाई केरुङमा चिनियाँ सरकारको पहलमा खाना बस्नको व्यवस्था मिलाइएको शसस्त्र प्रहरी बल नेपालले जानकारी दिएको छ ।
बाढीमा परेर बेपत्ता भएका मध्ये ९ जनाको अवस्था अझै अज्ञात छ । बाढीमा परेर ३ सुरक्षाकर्मीसहित १४ जना नेपाली र ६ जना चिनियाँ नागरिक बेपत्ता भएका थिए । फेला परेका शवमध्ये अहिलेसम्म एक जनाको मात्र पहिचान खुलेको छ । बाँकी शव र मानव अंग त्रिवि शिक्षण अस्पताल महाराजगंजमा राखिएको छ ।
हिमताल विस्फोट भएर भोटेकोशीमा बाढी आएको निष्कर्ष
काठमाण्डौ – जल तथा मौसम विज्ञान विभागले हिमताल विस्फोट भएर रसुवाको नेपाल–चीन सीमामा रहेको ल्हेन्दे खोलामा आएको बाढी भोटेकोशी नदीमा मिसिएको प्रारम्भिक निष्कर्ष निकालेको छ ।विभागले ’सेन्टिनेल’ उपग्रहबाट गरेको अध्ययनले हिमताल फुटेर बाढी आएको जनाएको हो । विभागका बाढीविद् विनोद पराजुलीले ’सुप्राग्लेशियल’ ताल फुट्दा बाढी आएको प्रारम्भिक अनुमान गरिएको जानकारी दिनुभयो ।ल्हेन्दे खोलाको माथिल्लो जलाधार क्षेत्रमा बाढीको घटना हुनुअघि र घटना भइसकेपछि तालको क्षेत्रफलमा परिवर्तन भएको देखाएको छ । अध्ययनले तालबाट पानी निकास भएको र त्यसको प्रभाव तालको तलको क्षेत्रमा परेको देखिएको छ । छिमेकी चीनबाट थप स्थलगत प्रतिवेदन प्राप्त हुने अपेक्षा गरेको बाढीविद् पराजुलीले बताउनुभएको छ ।यस्तै अन्तराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) का वैज्ञानिकले चीन–नेपाल सीमाको ल्हेन्दे खोलामा बनेको ’सुप्राग्लेशियल’ ताल फुटेर रसुवाको भोटेकोशीमा बाढी आएको पुष्टि गरेका छन् ।जलवायुविद् डाक्टर धर्मराज उप्रेतीले पनि ’स्याटलाइट’ तस्वीरको प्रारम्भिक अध्ययनबाट तिब्बती क्षेत्रमा रहेको ’सुप्राग्लेशियल’ ताल विस्फोटका कारण बाढी आएको देखिने बताउनुभएको छ ।


















