निजगढ,युनाइटेड मिशन टु नेपालले बागदेव दुग्ध उत्पादक सहकारी संस्थालाई साना किसानहरूको जीवनस्तर उकास्न र दुग्ध उत्पादनमा सुधार ल्याउने कार्यमा सहयोग गर्नेभएको छ । निजगढ नगरपालिकाको नगरप्रमुख सुरथ पुरीको सक्रियतामा परियोजना संचालनमा आउन लागेको हो ।युनाइटेड मिशन टु नेपालको सहकार्यमा संचालन हुने परियोजनाको बारेमा शनीवार संस्थाको सभा हलमा दुबै पक्षबीच प्रारम्भिक छलफल भएको छ । छलफल कार्यक्रममा निजगढ नगरपालिकाका नगरप्रमुख सुरथ पुरी, युनाइटेड मिशन टु नेपालका जीविकोपार्जन क्षेत्र प्रमुख मेल्सन श्रेष्ठ, कोष व्यवस्थापक अरुण बेलबासे, वडा नम्बर ५ का वडा अध्यक्ष सुर्यबहादुर थापामगर, बारा जिल्ला दुग्ध सहकारी संघ लिमिटेडका अध्यक्ष पुरुषोत्तम भट्टराई तथा विभिन्न सहकारी संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा सहभागीहरुले दुग्ध क्षेत्रलाई दीगो र समृद्ध बनाउने रणनीति, साना किसानको प्रत्यक्ष सहभागिता, बजार पहुँच विस्तार, प्रविधिको प्रयोग तथा सहकार्यको सुदृढीकरणबारे विचार आदानप्रदान गरेका थिए ।

युनाइटेड मिशन टु नेपाल र बागदेव दुग्ध उत्पादक सहकारी संस्थाले कार्यक्रमका सहभागी सबैप्रति आभार प्रकट गर्दै आगामी दिनहरूमा परियोजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन् ।युनाइटेड मिसनले निजगढ नगरपालिकामा शिक्षा, स्वास्थ्य, कृषि र लघु उद्यम जस्ता क्षेत्रमा काम गर्ने तयारी गरेको छ ।

Leave a Reply