निजगढ,निजगढ नगरपालिका वडा नम्बर ११ को रतनपुरमा बाघले बुधवार आक्रमण गरेर स्थानीय किसानको १२ वटा बाख्रा मारेर खाएको छ ।पछिल्लो एक सातादेखि किसानले पालेको चौपाय दिनहुँजसो खादै आएको बाघले बुधवार दिउसो स्थानीय ठुलोकान्छा श्रेष्ठसहित ३ जना किसानको १२ वटा बाख्रा एकैपटक मारेर खाएको हो । रतनपुर गाउँबाट पूर्वतर्फको जंगलमा चरिचरणमा लगिएका बाख्राहरु बाघले मारेको हो ।पर्सा राष्ट्रिय निकुञ्जको मध्यवर्ति क्षेत्रको रुपमा रहेको रतनपुर र लालगाउँमा यो अवधिमा बाघले खाएर डेढ दर्जनभन्दा बढी चौपाय मारिसकेको छ । जसमध्ये बाघले रतनपुरका नरनाथ काफ्लेको एउटा गाई र सिंहवीर मोक्तानको एउटा पाडो गोठमै पसेर खाएको हो । काफ्लेको गाई गत पुष २९ गते र मोक्तानको पाडो गत मंगलवार मारेको हो । यहि अवधिमा लालगाउँमा पनि बाघले एउटा भैसीसहित ६ वटा खसी–बाख्रा मारेको छ ।बाघले गोठमा बाँधेको चौपायसमेत मारेर खाने थालेपछि निजगढ नगरपालिकाले पर्सा राष्ट्रिय निकुञ्ज कार्यालयसंग पीडित किसानलाई क्षतिपूर्ति उपलब्ध गराउन माग गरेको छ । प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौलाले बुधवार विज्ञप्ति निकालेर रतनपुरी क्षेत्रमा जंगली जनावरले आक्रमण गरेर चौपाय मार्ने र मानवीय क्षतिको समेत जोखिम समेत उच्च रहेकोले सोको नियन्त्रणका लागि आवश्यक कार्य गरी पीडित किसानलाई क्षतिपूर्तिसमेत उपलब्ध गराइदिन निकुञ्जको कार्यालय आदाभारमा माग गर्नुभएको हो ।यसै विषयमा छलफल गर्न भने बिहीवार निजगढ नगरपालिकाले रतनपुरमा निकुञ्जका अधिकारीहरुलाई बोलाएर छलफलसमेत आयोजना गर्न लागेको छ ।बाघले चौपाय मार्नेक्रम बढेपछि स्थानीय बासिन्दामा त्रास बढेको रतनपुरका स्थानीय अगुवा चन्द्रकुमार थिङ्गले बताउनुभएको छ । घर र गोठमा बाघ पसेर चौपाय मार्न थालेपछि स्थानीयमा त्रास बढेको उहाँले बताउनुभयो ।‘आज मात्रै रतनपुरका किसानको १२ वटा बाख्रा मारेको छ, थिङ्गले भन्नुभयो, यसअघि लालगाउँमा पनि ६ वटा चौपाय मारेको छ ।’ बाघको आक्रमण बढेपछि सर्वसाधारणले समेत असुरक्षित महशुस गर्न थालेको थिङ्गले बताउनुभयो ।विगत केही वर्षयता रतनपुर क्षेत्रमा जंगली जनावरले किसानले पालेको चौपाय र लगाएको बाली खाएर क्षति पु¥याउदै आएको छ ।

















