निजगढ,बारा क्षेत्र नम्बर १ का सांसद अच्युत मैनालीले दुग्ध विकास संस्थान र निजी डेरी उद्योगमा किसानले बिक्री गरेको रकम तत्काल भुक्तानी व्यवस्था गर्न कृषि मन्त्रालयसंग माग गर्नुभएको छ ।प्रतिनिधि सभाको सोमवारको शुन्य समयमा बोल्दै सांसद मैनालीले दुग्ध विकास संस्थान र निजी डेरीबाट किसानले पाउनुपर्ने करिव ५ अर्व रुपैया भुक्तानीको लागि मन्त्रालयको ध्यानाकर्षण गराउनुभएको हो । ‘कृषि र पशुपालन ग्रामीण जनताको जीवनको आधार हो, सांसद मैनालीले भन्नुभयो, तर दुग्ध बेचेको रकम ६ महीनादेखि हात पार्न नसक्दा किसानहरु समस्यामा छन ।’ उहँले दुग्ध उत्पादनमा लागत न्यूनीकरणको कार्यक्रमको लागि बजेट व्यवस्था गर्न पनि नेपाल सरकारसंग अनुरोध गर्नुभएको छ । ‘दुग्ध उत्पादन लागत बढ्दै गएको छ, उहाँले भन्नुभयो, यसको लागि पालिका स्तरमा ससर्त बजेटमा अनुदान व्यवस्थापन गर्न अनुरोध छ ।’
त्यस्तै किसानलाई दिदैआइएको सहुलियतपूर्ण कर्जा रोकिएकोप्रति पनि उहँले असन्तुष्टि जनाउनुभएको छ ।

सांसद मैनालीले पशुपालन पशु बीमा प्रणाली झन्झटिलो भएकोेले प्रभावकारी पार्न पनि अर्थ र कृषि मन्त्रालय र बीमा कम्पनी तथा प्राधिकरणको ध्यानाकर्षण गराउनुभएको छ । एउटै विवरण कृषक, बीमा कम्पनी, बीमा प्राधिकरण र पशु प्राविधिकले पटकपटक भर्नुपर्ने हालको अवस्थामा परिवर्तन हुनुपर्ने उहाँको भनाई छ ।‘बीमाको प्रविष्टि प्रणाली अत्यन्तै झन्झटिलो छ, उहाँले भन्नुभयो,अनलाइन सिस्टमलाई एकीकृत पारी छिटो, छरितो र प्रभावकारी सेवा प्रवाहको व्यवस्था मिलाउनुपर्छ ।’ उहाँले अनुदानको लागि बीमा कम्पनीहरुले हाल कृषि ज्ञान तथा विज्ञ केन्द्रबाट सिफारिसपत्र लिनुपर्ने व्यवस्थाको पनि अन्त्य हुनेपर्ने बताउनुभएको छ । ‘यसलाई पनि प्रत्येक स्थानीय तहको पशु सेवा शाखाबाट नै उपलब्ध गराउने व्यवस्था मिलाउनुपर्छ ।’

Leave a Reply