सिकिन्द्र साह

सिम्रौनगढ,सिम्रौनगढ नगरपालिका वडा नम्बर १० देवापुर टेटाका रामसेवक पंडित कुम्हारले साहुसंग ऋण काढेर छोरा बासुदेब पंडित कुम्हारलाई वैदेशिक रोजगारीको लागि मलेसिया पठाउनुभयो । कुम्हारले काठमाडौको एक मेनपावर कम्पनीमार्फत छोरा बासुदेबलाई मलेसियाको लुमुट कम्पनीमा काम गर्न पठाउनुभएको हो ।

संझौता विपरित काम लगाउन थालेपछि काम सुरु गरेको केही दिनमा नै कम्पनीका मालिसंग बासुदेबको बिबाद उत्पन्न भयो । सोही निहुँमा कम्पनीका मालिकले बासुदेबलाई प्रहरी लगाएर कारागारमा हाल्न लगाएका छन ।

विदेशबाट पैसा कमाएर पठाउला र परिवारमा सुखको दिन शुरु होला भन्ने आशामा रहेका बासुदेबका बुवा र आमा छोरालाई कारागार पठाइएको भन्ने खबर सुनेपछि हाल बिचलित अवस्थामा छन । बासुदेबकी आमा लक्ष्मी देबी छोरा बिदेशको जेलमा परेको दिनदेखि शोेक र पिडामा रहेकीछिन । छोराको खबर सुनेर आमाको मानसिक अवस्था समेत कमजोर बन्दै गएको जेठो छोरा हरदेव पंडितले बताउनुभएको छ । बासदेव पडितकी श्रीमति सबिता देबीको हालत पनि उस्तै छ । श्रीमान जेलमा परेको दिनदेखि उनको आँखाबाट बग्न सुरु भएको आशु अझै थामिएको छैन । ‘श्रीमानलाई केही भयो भने के गर्ने, सबिता भन्नुहुन्छ, छोराछोरी र आमाबुबालाई अब कसरी पाल्ने होला ।’ बासुदेबको घरमा १ छोरा र १ छोरी छन । ‘विदेश जादाँ साहुसंग लिएको ऋण अझै तिर्न सकिएको छैन, श्रीमानलाई सकुशल स्वदेश फिर्ता गराइ दिन सहयोगकोलागि सबैसंग अनुरोध छ ।’ सबिताले भन्नुभयो, पैसा भन्दा ज्यान ठुलो हो, फर्किन पाउनु भयो भने अब गाउँघरमै ज्याला मजदुरी गरेर जीवन चलाइन्छ ।’ बासुदेबको रिहाइकोलागि परिवारले राजधानी काठमाडौसम्म पुगेर धेरै ठाउमा हारगुहार मागेको छ । तर कतैबाट पनि सहयोग नपाएको सबिता देबीले बताउनुभयो ।

बासुदेबको रिहाइको लागि गाउँका वडा अध्यक्षलाई लिएर वृद्ध बाबु रामसेवक काठमाडौको मेनपावर कम्पनीमा पुग्नु भएको थियो । ‘कम्पनीले पनि कुनै किसिमको सुनुवाइ गरेको छैन ।’ उहाँले भन्नुभयो ।

Leave a Reply