वर्तमान केपी ओली नेतृत्वको सरकार गठन भएको पनि एक वर्ष पूरा भएको छ । हुनत यो सरकार गठन भएको करिब ६ महिना नहुँदै मुख्य प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)ले यो सरकारको आयू धेरै छैन भनेर बिश्लेषण गरेको देखिन्थ्यो । झट्ट हेर्दा अस्वभाविक जस्तो देखिने काँग्रेस एमालेको गठबन्धन एक वर्ष पनि टिक्दैन कि भन्ने केहीको आशंकालाई चिर्दै यो सरकारले ३ सय ६५ दिन पूरा गरेको छ । नेपालको राजनीतिमा एक वर्ष प्रधानमन्त्री एकजना टिक्नु पनि ठूलो कुरा जस्तो भइसक्यो तर यो अभ्यास चैं ठीक होइन ।
सरकार त पाँच वर्ष नै टिक्न पर्ने हो । गठबन्धन नै भएपनि सरकार परिवर्तन नभएको राम्रो तर अबको फेरि एक महिनापछि त फेरि केपी ओलीले काँग्रेसलाई प्रधानमन्त्री पद छाड्न पर्ने पनि छ । सहमति कार्यान्वयन नभए पनि अर्को राजनीतिक घटनाक्रम हुन पनि सक्छ । त्यसैले पनि फेरि यो सरकार पनि बीच बाटोमा नै दुर्घटनामा पर्ने पो हो कि भन्ने डर पनि उत्तिकै छ ।
तर, एक वर्ष टिक्दैन भनेको सरकारले एक वर्षका समय पार गरेको छ तर यो सरकारले एक वर्षमा जनअपेक्षा अनुसार काम गर्न भने सकेको देखिदैन । जे काम गर्नका लागि भनेर यो सरकार गठन गरेको भनिएको थियो, त्यसमा उपलब्धी भएको छैन । देशमा भ्रष्ट्राचार नियन्त्रण, सुशासन, पारदर्शिता, रोजगारी सृजना, र विकास निर्माणको काममा तीव्रता जस्ता जनताका अपेक्षा अधुरा नै छन ।
त्योभन्दा पनि अझ मुख्य कुरा संबिधान संशोधनको विषयमा त कुनै पहल भएको देखिदैन । काँग्रेस र एमालेको गठबन्धन सरकारले पनि गर्न नसकेको काम अब फेरि अर्को कुनै सरकार बनेपछि होला भन्ने आशा पनि छैन । त्यसैले अबको बाँकी समय प्रधानमन्त्री केपी ओलीले यतातिर बढी सोच्न जरुरी छ ।














