सिमरा,गाडी धुने ग्यारेजमा पेट्रोलियम पदार्थको अबैध कारोबार गरिरहेको अवस्थामा प्रहरीले अमलेखगञ्जबाट एक जना ट्रक चालकलाई पक्राउ गरेको छ ।ईलाका प्रहरी कार्यालय सिमराको प्रहरी टोलीले जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २२ स्थित अमलेखगञ्जबाट आइतवार जीतपुरसिमरा वडा नम्बर १२ फत्तेपुर घर भएका चालक २१ वर्षीय सुवास चौधरीलाई ना१क २८३६ नम्बरको ट्रकसहित पक्राउ गरेको हो ।तेल भरिएको ग्यालेन ट्रकमा लोड गरिरहेको अवस्थामा चौधरी पक्राउ परेका हुन् ।

ट्यांकरबाट तेल चोरी गरी बिक्री वितरण भइरहेको भन्ने सूचनापछि प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो । प्रहरीले उक्त स्थानबाट झण्डै १० लाख मूल्यबराबरको तेलजन्य पदार्थसहित पेट्रोल, डिजल, मट्टितेल बरामद गरेको छ ।प्रहरीका अनुसार पाँच हजार सात सय ९५ लिटर वनस्पतीजन्य तेलजस्तो पदार्थ, एक हजार लिटर पेट्रोल, ६ सय लिटर डिजल, ६ सय लिटर मट्टितेल बरामद गरिएको हो । ड्रम र ग्यालेनमा भरेर राखेको अवस्थामा उक्त तेलजन्य पदार्थ बरामद भएको हो ।पेट्रोल, डिजल र मट्टितेलको पहिचान भएपनि वनस्पतीजन्य तेल पदार्थको पहिचान हुन सकेको छैन । प्रहरीले उक्त पदार्थको परीक्षण गर्ने तयारी गरिरहेको छ ।जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २२ स्थित विष्णुराज ठकुरीको जग्गामा स्थानीय सुरेश आलेद्धारा संचालित गाडी धुने ग्यारेज पछाडि गोप्यरुपमा उक्त कारोबार भइरहेको थियो । गाडी धुने ग्यारेजको नाममा अवैध कारोबार भएको हुनसक्ने आशंकासहित प्रहरीले अनुसन्धान सुरु गरेको छ ।पक्राउ परेका ट्रक चालकले आफूलाई सवारीधनीले लोड गर्न पठाएको प्रारम्भिक बयान दिएको प्रहरीले जनाएको छ । प्रहरीले उक्त ट्रकका धनीको खोजी सुरु गरेको छ ।
सौजन्य तस्बिर

Leave a Reply