पुष्पराज खतिवडा
सिमरा,नियमित औैैषधी सेवन गर्नाले कुष्ठ रोग निको हुने चिकित्सक प्रकाश पौडेलले बताउनुभएको छ ।बुधवार बाराको सिमरामा दि लेप्रोसी मिसन नेपालले आयोजना गरेको पत्रकारहरुसँगको कुष्ठरोग एवं सुरक्षा संरक्षण अभिमुखीकरण कार्यक्रममा डा. पौडेलले चेकजाँच गरी नियमित औषधि सेवन गर्नाले रोग नियन्त्रणमा आउने बताउनुभएको हो ।

छाला तथा सतहमा असर गर्ने ब्याक्टेरीया शरीर प्रवेश गरेपछि सो रोग लाग्ने उहाँले बताउनुभयो । रोगीले सास फेर्दा, बोल्दा, हाच्छिउँ गर्दा वा खोक्दा कुष्ठ रोगका जीवाणुहरु निरोगी मानिसमा सर्नसक्ने उहाँले जानकारी दिनुभयो ।
श्वास प्रश्वासको माध्यमबाट एउटा रोगीको माध्यमबाट अन्य मानिसमा सर्ने कुष्ठ रोग लागेमा मानिसलाई अंगभंगसमेत बनाउने उहाँको भनाई छ । शरीरका विभिन्न भागमा नचिलाउने खालका लाटा, फुस्रा दाग, धब्बा देखिएमा तुरुन्त स्वास्थ्य संस्थामा गएर जाँच गराउनुपर्ने उहाँको भनाई थियो ।

‘छालामा रातो वा फुस्रो रंगको दाग देखा परेमा, अनुहारको छाला र कानको लोती बाक्लो र चम्किलो देखिएमा, शरीरका विभिन्न भागमा गिर्खा देखिएमा कुष्ठरोग शंका गर्न सकिन्छ, डाक्टर पौडेलले भन्नुभयो, यस्तै यो रोगको संक्रमण भएमा आँखीभौं झर्ने वा पातलो हुने, हात, खुट्टा लत्रिने, औंलाहरु बाङ्गो हुने, हत्केला वा पैतालामा नदुख्ने घाउ देखा पर्ने, हत्केलाका मांशपेसीहरु सुकेर जाने र नाक थेप्चो हुने जस्ता लक्षण देखिन्छन ।’माइकोब्याक्टेरियम लेप्रे र माइक्रोब्याक्टेरियम लेप्रोम्याटोसिस जीवाणु (ब्याक्टेरिया) को कारणले मानिसमा कुष्टरोग लाग्ने गर्दछ । संक्रमण हुँदा सुरूमा कुनै लक्षण देखा नपरेपनि बिस्तारै स्नायुहरू, श्वासप्रश्वास मार्ग, छाला, र आँखामा समस्या हुनसक्छ उहाँले बताउनुभयो ।
रोगको जीवाणु शरीरमा प्रवेश गरेको २ देखि ५ वर्षपछि मात्रै यस्को लक्षण देखा पर्ने चिकित्सकहरुले बताएका छन । रोगबाट बच्न नियमित रुपमा स्वास्थ्य परीक्षण गरी औषधी सेवन गर्नुपर्ने उनीहरुको भनाई छ ।

कुष्ठरोगीको उपचार प्रयोजनका लागि पौसिबेसिलरी र मल्टिबेसिलरी गरी रोगलाई दुई समुहमा वर्गीकरण गरिन्छ । शरीरमा कतिवटा वास्तविक रङ गुमेको, लाटिएको दाग–धब्बा छ भन्ने कुराको आधारमा यसको वर्गीकरण हुने गरेको हो । पौसिबेसिलरीमा पाँच वा सोभन्दा कम हुन्छ भने मल्टिबेसिलरीमा पाँच वटाभन्दा बढी दाग धब्बा हुने डा. पौडेलले बताउनुभयो ।
रोगीले रिफामपिसिन, डापशोन र क्लोफाजेमिन नामक औषधी चिकित्सकको सल्लाहमा सेवन गर्नु पर्ने हुन्छ । रोगको आधारमा यो औषधी ६ देखि २४ महिना सेवन गर्नुपर्ने र कुष्ठरोगको औषधी सरकारी स्वास्थ्य संस्थामा निःशुल्क उपलब्ध हुने उहाँले जानकारी दिनुभयो ।बारा जिल्लामात्रै चालू आर्थिक वर्षसम्ममा ६३ जनामा संक्रमण पाइएको र पचरौता नगरपालिकामा सबैभन्दा धेरै ९ जना रोगी रहेको कार्यक्रममा जानकारी गराइएको थियो । देशभरिमा भने यो संख्या २ हजार ५ सय २२ रहेको बताइएको छ ।अभिमुखीकरण कार्यक्रममा नेपाल पत्रकार महासंघ बाराका अध्यक्ष रेशम तिवारी, जिल्ला स्वास्थ्य कार्यालय बाराका कुष्ठ रोग निवारण अधिकृत शम्भुलाल कर्ण र दि लेप्रोसी मिसन नेपालका जिल्ला सहजकर्ता रामहरी रेग्मी लगायतले रोगको विभिन्न पक्षको बारेमा जानकारी दिनुभएको थियो ।कार्यक्रम आईरिस एडको आर्थिक सहयोगमा सम्पन्न भएको हो ।

Leave a Reply