कलैया,शिक्षकहरुको नियम विपरीत जिल्लान्तर सरुवा गरेको उजुरी परेपछि शिक्षा विकास तथा समन्वय ईकाई बाराका प्रमुख भरतबहादुर थापाको सरुवा भएको छ ।
सङ्घीय मामिला तथा समान्य प्रशासन मन्त्रालय सिंहदरबार, काठमाडौको मिति २०७९ जेष्ठ ११ गतेको निर्णय अनुसार ईकाई प्रमुख थापाको राष्ट्रिय किताबखाना (शिक्षक) छाउनीमा सरुवा भएको हो । सरुवा भएको पत्र समेत आइसके पनि ईकाई प्रमुख थापाले भने रवाना पत्र लिनुभएको छैन । मन्त्रालयको आदेशलाई अटेरी गरी शिक्षा विकास तथा समन्वय ईकाई बारामा थापा हालसम्म पनि कार्यरत रहेका जानकारी प्राप्त भएको छ ।
२०७८ साल चैत्र मसान्तसम्मको रिक्त भएको दरबन्दी शिक्षक आयोगमा गइसकेको र २०७८ माघ ४ गतेसम्म रिक्त हुने दरबन्दीमा शिक्षक सेवा आयोगबाट विज्ञापन भइसकेकोले जिलान्तर सरुवा गर्न शर्त राखिएको थियो । तर ईकाई प्रमुख थापाले आर्थिक चलखेलमा नियम विपरीत बारागढ़ी गाउँपालिकाको नेपाल राष्ट्रिय प्राथमिक विद्यालय मुर्कीविर्तामा दिगम्बर यादव, कलैया उपमहानगरपालिका वडा नम्बर २६ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय सिस्वा महेशपुरमा रन्जु कुशवाहा, जीतपुरसिमरा उपमहानगरपालिकाको जनता माध्यमिक विद्यालय राजघटामा धर्मेन्द्र साह, जीतपुरसिमरा उपमहानगरपालिका नगौलस्थित नेपाल राष्ट्रिय निम्न माध्यमिक विद्यालयमा लालु दास र आदर्शकोतवाल गाउँपालिको नेपाल राष्ट्रिय प्राध्यमिक विद्यालयमा मणिकुमार कर्णको जिलान्तर सरुवा गर्नुभएको हो ।
नागरिक समाज बाराले अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडामा जिल्लान्तर सरुवामा अनियमितता भएकोले ईकाई प्रमुख थापालाई कारबाही गरी पाउँ भनी उजुरी परेको थियो । सोहि निवेदनको आधारमा ईकाई प्रमुख थापाको शिक्षक किताबखानामा सरुवा भएको बताइएको छ ।

















