कलैया,कलैया उपमहानगरपालिकामा स्थानीय सरकार, निजी क्षेत्र र सरोकारवालाहरूबीच श्रमिकहरुको हक, हित प्रबद्र्धनको लागि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत कलैया उपमहानगरपालिका रोजगार सेवा केन्द्रको आयोजनामा ‘श्रमको सम्मान, राष्ट्रको अभियान’ भन्ने नाराका साथ कार्यक्रम सम्पन्न भएको हो ।
राष्ट्र निर्माणमा श्रमिकहरूको योगदानको कदर, अधिकारको संरक्षण, सुरक्षित कार्य वातावरणको सुनिश्चितता र उत्पादनशीलता अभिवृद्धि, छलफलको मुख्य उद्देश्य रहेको आयोजकले बताएको छ ।
कार्यक्रममा सहभागी स्थानीय सरकारका प्रतिनिधिले श्रमिक हितका लागि नीति तथा कार्यक्रम निर्माण र कार्यान्वयनमा प्राथमिकता दिने प्रतिबद्धता जनाएका छन् । यसैगरी निजी क्षेत्रका प्रतिनिधिहरूले पनि श्रमिकहरूको हक अधिकार सुनिश्चित गर्दै औद्योगिक सम्बन्ध सुधार्न प्रयत्नशील रहने बताएका छन् ।रोजगार सेवा केन्द्र शाखाका प्रमुख विवेक गुप्ताले कार्यक्रमको औचित्यमा प्रकाश पार्दै कलैया उपमहानगरपालिकाभित्र करिब एक हजारभन्दा बढी बेरोजगारको तथ्यांक संकलन भएको र एक सय ५० जना रोजगारदाताको विवरण सङ्कलन गरिएको जानकारी दिनुभएको थियो ।
कार्यक्रममा कलैया उपमहानगरपालिकाका नगर प्रमुख विनोद साह, उपप्रमुख रौशन प्रवीण, प्रमुख प्रशासकीय अधिकृत नाथु साह, विभिन्न वडाका अध्यक्ष, कार्यपालिका सदस्य, शिक्षा युवा तथा खेलकुद महाशाखा प्रमुख राजिव यादव र बारा उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार साह लगायत विभिन्न क्षेत्रका सरोकारवालाहरूको उपस्थिति थियो ।



















