काठमाण्डौ – प्रतिनिधि सभाको सोमवारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली र सांसदहरूबीच प्रश्नोत्तर कार्यक्रम संचालन गरिएको छ ।बैठकमा विभिन्न दलका १० जना सांसदले सोधेका प्रश्नको प्रधानमन्त्री ओलीले जवाफ दिनुभएको थियो । सांसदहरूले देशमा भ्रष्टाचार बढेको, चुच्चे नक्सामा भएको भूमि कहिले नेपालको माताहत आउँछ, राजस्व चुहावट किन नरोकिएको, सिद्धार्थ राजमार्ग कहिले डेडिकेटेड दुई लेनको बन्छ, आँधीखोला जलाशययुक्त आयोजना कहिले बन्छ लगायतका कयौँ प्रश्न सोधेका थिए ।

प्रधानमन्त्री ओलीले नेपालको संविधान नै संशोधन गरेर कालापानी, लिम्पियाधुरा र कालापानी लगायतका भूमि समेटेर नयाँ नक्सा जारी गरेको जानकारी दिँदै अब भारतसँग कुटनीतिक माध्यमबाट यो विषयको टुङ्गो लगाउने जानकारी दिनुभयो । यो विषयमा दुवै देशका संयन्त्रले काम गरिरहेको ओलीको भनाइ छ । आफूले भ्रष्टाचार नगर्ने र भ्रष्टाचार नगर्नेलाई नछाड्ने जवाफ दिनुभयो । उहाँले अहिलेको सरकार विकास निर्माण, सुशासन कायम गर्न गठन भएको भन्दै अब विकास निर्माणले तीव्रता पाउने बताउनुभयो ।

तर प्रश्नोत्तर कार्यक्रमअघि प्रधानमन्त्री र माओवादी केन्द्रका सांसदहरूबीच भनाभन भएको छ । सोमवारको बैठकको शून्य समयमा माओवादीका सांसद लेखनाथ दाहालले आइतवार प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्को रोस्ट्रममै उभिएर ट्रङ्क लाइन र डेडिकेटेड लाइन उपभोग गरेका उद्योगको झन्डै आठ अर्ब रुपैयाँ असुल नगर्न निर्देशन दिएर विद्युत् प्राधिकरणप्रति आक्रोश जनाएको भन्दै विरोध गर्नुभएको थियो ।
सांसद दाहालको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै प्रधानमन्त्री ओलीले आफूले उद्योगीले बिजुलीको बिल तिर्नुपर्दैन नभनेको बरु उपभोग नगरेको बिजुलीको बिल तिराउन हुँदैन मात्रै भनेको बताउनुभयो । ओलीले माओवादीका सांसद राजन दाहालको चर्को आलोचना गरेपछि माओवादीका अर्का सांसद वर्षामान पुनले आपत्ति जनाउनुभयो । प्रश्नको जवाफ दिन रोस्ट्रममा पुगेका प्रधानमन्त्रीले माओवादीका सांसदलाई गालीगलौज गरेको भन्दै पुनले आक्रोश पोख्नुभयो । त्यसपछि सभामुखले प्रधानमन्त्री ओलीलाई विषय केन्द्रित हुन आग्रह गरेपछि ओलीले सांसदले उठाएका प्रश्नहरूको जवाफ दिनुभएको थियो ।
प्रतिनिधिसभा नियमावली २०७९ को परिच्छेद ९ मा प्रधानमन्त्री वा निजको कार्यक्षेत्रसँग प्रत्यक्ष रूपमा सम्बन्धित महत्वपूर्ण विषयमा प्रश्न सोध्नका लागि सभामुखले प्रत्येक महिनाको पहिलो हप्ताको कुनै एक दिनको पहिलो घण्टा निर्धारण गर्ने व्यवस्था रहेको छ ।सोमवारको बैठकको शून्य समयमा सांसदहरूले देशैभरि बाढी पहिरोले क्षति पु¥याएको, गाडी दुर्घटना बढेको, भूकम्प प्रभावित क्षेत्रमा बर्खासँगै समस्या थपिएका लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

Leave a Reply