काठमाण्डौं,उपभोक्ता अदालतको फैसलामाथि प्रश्न उठाउँदै चिकित्सकहरूले आन्दोलन घोषणा गरेका छन् ।
नेपाल चिकित्सक सङ्घ कार्यकारी समितिले सोमवारदेखि आकस्मिकबाहेकका सेवा बन्द गर्ने, नेपाल मेडिकल काउन्सिलको प्रमाणपत्र फिर्ता गर्नेलगायतका कार्यक्रम घोषणा गरेका हुन् ।

गएको चैतमा गठन भएको उपभोक्ता अदालतले चिकित्सकीय लापरबाहीका तीन वटा मुद्दामा अस्पताल र उपचारमा संलग्न चिकित्सकहरूले क्षतिपूर्ति तिर्नुपर्ने फैसला सुनाएपछि चिकित्सकहरू आन्दोलित भएका हुन् ।गएको जेठ र असारमा फैसला भएका तीन मुद्दामध्ये एउटामा ५६ लाख ८१ हजार, अर्को मुद्दामा ५७ लाख १९ हजार रुपैयाँ र तेस्रो मुद्दामा एक करोड ४५ लाख ४४ हजार रुपैयाँ क्षतिपूर्ति भराउने फैसला भएको छ ।

उपभोक्ता संरक्षण ऐन २०७५ ले कुनै पनि वस्तु र सेवा लिँदा उपभोक्तालाई हानी पुगेमा क्षतिपूर्ति पाउने व्यवस्था गरेको छ । चिकित्सकको लापरबाहीको मुद्दा नेपाल मेडिकल काउन्सिलले हेर्ने भएकोले यस्तो मुद्दा काउन्सिलबाटै हेर्नुपर्ने चिकित्सक सङ्घको माग छ । उपभोक्ता अदालतबाट आएका फैसलाले चिकित्सकहरूलाई काम गर्ने सहज वातावरण नहुने उनीहरूको भनाई छ ।

Leave a Reply