सिमरा,बजेट बाँडफाँडमा सहमति जुटेसंगै जीतपुरसिमरा उपमहानगरपालिकाले बाह्रौ नगरसभाको दोस्रो बैठक बोलाएको छ । प्रमुख प्रशासकीय अधिकृत शान्तिराज प्रसाईंले आइतवार सूचना प्रकाशित गर्दै दोस्रो बैठक बोलाउनुभएको हो ।यसअघि आगामी आर्थिक वर्ष २०८२-०८३ को नीति तथा कार्यक्रम र बजेटमा छलफल गर्न भनेर गत असार ९ गते बसेको पहिलो बैठक उद्घाटनलगत्तै स्थगित भएको थियो भने असार १८ गतेका लागि बोलाइएको दोस्रो बैठक अर्को सूचना जारी नहुँदासम्मका लागि भन्दै स्थगित गरिएको थियो ।

प्रमुख प्रशासकीय अधिकृत प्रसाईंद्धारा जारी सूचनाअनुसार अब बाह्रौ नगरसभाको दोस्रो बैठक असार २५ गते बस्नेछ । उक्त बैठकले नीति तथा कार्यक्रम, बजेट र विधेयक पेस हुनेछ ।बजेटका विषयमा कार्यपालिका सदस्यहरुबीच आन्तरिक सहमति जुटेपछि नगरसभा बोलाइएको हो । सहमति अनुसार आर्थिक वर्ष २०८२÷०८३ का लागि उपमहानगरपालिकाको बजेट दुई अर्व एक करोड हुनेछ । जसमध्ये बाँडफाँडयोग्य ४२ करोडको रकमबाट कसले कति लिने भन्ने सहमति भएपछि नगरसभाको बैठक बस्नलागेको हो ।

सहमति अनुसार बाँडफाँड योग्य ४२ करोड रकमबाट नगर प्रमुख राजन पौडेलले १४ करोड, उपप्रमुख भोलाप्रसाद अधिकारीले ६ करोड ६० लाख, २४ वटा वडाले २० करोड र कार्यपालिका सदस्यले एक करोड ४० लाख पाउँनेछन् । सो १४ करोडबाट नगर प्रमुख पौडेलले प्रत्येक वडामा न्युनतम २५ लाखका दरले एउटा योजना अनिवार्य संचालन गनुपर्नेछ भने ६ करोड ६० लाखबाट उपप्रमुख अधिकारीले प्रत्येक वडामा १० लाखको योजना राख्नुपर्नेछ ।
नगर प्रमुख र उपप्रमुखको भागमा परेको रकमका योजनाहरु वडाको सिफारिसमा तय हुनेछ । यसबाहेक अन्य रकमबाट प्रमुख र उपप्रमुखले वडास्तरीय योजना संचालन गर्ने सहमति भएको छ ।

यसवर्षको २४ वटा वडाले कुल २० करोड बजेट पाउनेभएका छन् । सोही रकमबाट वडाको सिलिङ तय गरिने र भूगोल, जनसंख्या हेरेर एउटा वडाले कति बजेट पाउने भन्ने निक्र्योल हुने बताइएको छ ।यसपटक कार्यपालिका सदस्यले पाउने बजेटको रकम समेत बढाइएको छ । सात जना कार्यपालिका सदस्यले २० लाखका दरले एक करोड ४० लाख बजेट पाउनेछन् ।

Leave a Reply