सिमरा,जगदम्बा स्टील्सको जोखिमपूर्ण भट्टी संचालनमा रोक लगाउन माग गर्दै विभिन्न राजनीतिक दलका स्थानीय नेताले जीतपुरसिमरा उपमहानगरपालिकालाई ज्ञापनपत्र बुझाएका छन् ।मानव स्वास्थ्य र वातावरणलाई जोखिम हुने गरी उद्योगले भट्टी संचालन गरेकोभन्दै विभिन्न सात दलका स्थानीय नेताले उपमहानगरपालिकाका प्रमुख राजन पौडेललाई आइतवार ज्ञापनपत्र बुझाएका हुन् ।

जगदम्बाको कच्चा पदार्थ पगाल्ने जोखिमपूर्ण भट्टी संचालनमा रोक लगाउन माग गर्दै नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र जनमत पार्टीका नगर प्रतिनिधिहरुले ज्ञापनपत्र बुझाएका हुन् ।ज्ञापनपत्रमा नगरबासीको स्वास्थ्यका लागि उद्योगले गर्दै आएको ज्यादति तत्काल नियन्त्रणका लागि स्थानीय सरकारले स्प्रष्ट भूमिका देखाउन राजनीतिक दलहरुले माग गरेका छन । उद्योगको सिसिएम प्लान्टमा गत हप्ता भएको विष्फोट घटनाले बढाएको त्रासदीपूर्ण वातावरणलाई गम्भीरताका साथ लिन स्थानीय सरकारलाई आग्रह गरेका छन् । लगातार भईरहेको विष्फोटको घटनाले उद्योगमा काम गर्ने श्रमिकको ज्यान जोखिममा पर्नुका साथै उद्योग आसपासका बस्तिका स्थानीयसमेत मानसिक रुपमा पीडित हुनुपरेको ज्ञापनपत्रमा उल्लेख छ ।

‘भट्टी संचालनसंगै उद्योगबाट हुने प्रदुषण नियन्त्रणका लागि जीतपुरसिमरा उपमहानगरपालिकाले चासो देखाएको पाईदैन, ज्ञापनपत्रमा भनिएकोछ, प्रदुषणका कारण लामो समयदेखि प्रताडित स्थानीय पछिल्लो पटक भएको भट्टी विष्फोटको घटनाबाट थप त्रसिद् देखिएका छन् ।’ उद्योगका कारण उत्पन्न त्रासदीपूर्ण परिस्थितीलाई दीर्घकालिनरुपमा समाधान गर्न उद्योगको भट्टी स्थानान्तरण गर्न आवश्यक रहेको राजनीतिक दलको ठहर छ । बुँदागतरुपमा ध्यानाकर्षण र माग राखेका दलका प्रतिनिधिहरुले भट्टी स्थानान्तरणलाई पहिलो सर्त बनाएका छन् ।

ज्ञापनपत्रमा कांग्रेस सभापति छविलाल शर्मा, एमाले अध्यक्ष त्रिलोकविक्रम शाह, माओवादी अध्यक्ष प्रेम बराल, रास्वपा सभापति सुरेशराज केसी, समाजवादीका अध्यक्ष सञ्जय पटेल, लोसपाका अध्यक्ष सरोज पटेल र जनमत पार्टीका मनोहर साहले हस्ताक्षर गरेका हुन् ।असार १८ गते भएको भट्टी विष्फोटमा बस्ती वरपरको घरमा कम्पन हुनुको साथै घर हल्लिन थालेपछि साना बालबालिकादेखि वृद्धवृद्धासम्मले घर छोडेर भागेका थिए ।यसअघि प्रतिनिधिसभा सदस्य एवम् पूर्वमन्त्री कृष्णकुमार श्रेष्ठ (किसान), मधेश प्रदेशसभा सदस्य देवनारायण चौधरीले समेत आफ्नो धारणा सार्वजनिक गर्दै उद्योगको भट्टी संचालनमा रोक लगाउन माग गरिसकेका छन् ।

Leave a Reply