आरके राजन
सिम्रौनगढ,बाराको सिम्रौनगढ नगरपालिकाकी उपप्रमुख नजमु शेहरले नगरपालिका कार्यालयमा तालाबन्दी गर्नुभएको छ ।
नगर प्रमुख किशोरीप्रसाद कलवारले आफ्नो कार्यक्षेत्रमा हस्तक्षेप गरेको आरोप लगाउँदै उपप्रमुख शेहरले नगरपालिकाको मूल गेटमा बुधवार तालाबन्दी गर्नुभएको हो ।शेहरले नगर सभाबाट बजेट बाँडफाँड भएर योजना कार्यान्वयनको क्रममा प्रमुखले हस्तक्षेप गरिरहेको आरोप लगाउनुभएको छ । उहाँले न्यायिक समितिको अधिकार खोस्ने र प्रसाशनिक भवनको पर्खाल निर्माण र स्तोरोन्नतिको लागि आफूले पाएको योजनाको कार्यादेश पनि नदिइएको सुनाउनुभयो । उहाँले न्यायिक समिति सञ्चालन गर्न समस्या उत्पन्न भइरहेको समेत बताउनुभयो ।
त्यसैगरी तराई मधेस समृद्धि कार्यक्रममा पनि कुनै काम अघि नबढेकोले र सो योजना कार्यान्वयनको लागि नगरपालिका कार्यालयले संझौता गरेर कार्यादेश नदिएसम्म कार्यालयमा लगाएको ताला नखोल्ने उपप्रमुख शेहरको भनाई छ । आफ्नो अधिकार क्षेत्रमा अनावश्यक कतौति र हस्तक्षेप गरिएका कारण बाध्य भएर तालाबन्दी गर्नुपरेको उहाँको भनाई छ ।
यता, नगर प्रमुख किशोरीप्रसाद कलवारले भने उपप्रमुख शेहरले लगाएको सबै आरोप गलत रहेको बताउनुभएको छ । उहाँले सबै आरोप असत्य रहेको र आफूले कुनै कार्यादेश रोक्न आदेश नदिएको बताउनुभयो । कार्यालयको ताला नखोलेसम्म उपप्रमुख शेहरसंग कुनै वार्ता हुन नसक्ने पनि उहाँले बताउनुभएको छ ।


















