सिमरा,फाल्गुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको प्रचार अभियान प्रभावकारी बनाउन बारा क्षेत्र नं. ४ मा नेकपा एमालेले क्षेत्रीय कमिटीका अध्यक्ष ध्रुव यादवको नेतृत्वमा एक हजार एक सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ ।
यसैगरी बैठकले एमाले केन्द्रीय सदस्य एकबाल मियाँको नेतृत्वमा १५ सदस्यीय निर्वाचन सहजीकरण तथा अनुगमन समिति पनि गठन गरेको छ ।
सो पार्टीको क्षेत्रीय विस्तारित बैठकले आगामी निर्वाचनलाई लक्षित गरेर क्षेत्र, नगर, गाउँ, वडा र टोल केन्द्रीत अभियान प्रभावकारी बनाउने निर्णय गरेको छ ।बैठकमा बोल्दै एमालेका अधिकांश नेताले उम्मेदवार कृष्णकुमार श्रेष्ठ (किसान) लाई बिजयी बनाउनका लागि सबै कमिटी र संगठनलाई सक्रिय बनाउने बताएका छन् ।
पूर्वमन्त्री तथा बारा ४ का निवर्तमान सांसद समेत रहेका श्रेष्ठको पक्षमा जनलहर कायम रहेको निष्कर्ष निकाल्दै नेताहरुले निर्वाचन परिचालनलाई थप व्यवस्थित बनाउँदै लैजानुपर्ने बताएका थिए ।बैठकमा उम्मेदवार श्रेष्ठसहित एमाले केन्द्रीय सदस्य एकबाल मियाँ, मोबिन आलम, एमाले मधेश प्रदेश सचिव मनोज पौडेल, एमाले प्रदेश सचिवालय सदस्य सुन्दर विक, प्रदेश कमिटी सदस्य देवनारायण चौधरी, अमर यादव, उमेश गुप्ता, सुनिल पाल, धर्मदेव यादव, एमाले बाराका अध्यक्ष अध्यानन्द पाण्डेलगायतले चुनावी अभियानका विषयमा धारणा राखेका थिए ।
यसैगरी बैठकले क्षेत्रभित्र पर्ने पालिकाहरुको बैठकको मिति पनि तोकेको छ । बैठकले माघ १० गते बिहान जीतपुरसिमरा, दिउँसो परवानीपुर, माघ ११ गते बिहान प्रसौनी, दिउँसो बिश्रामपुर, माघ १२ गते बिहान फेटा गाउँपालिकामा पालिका स्तरीय भेला आयोजना गर्ने निर्णय गरेको हो ।


















