रौतहट,स्रोत नखुलेको ३० लाख रुपैयाँसहित रौतहटबाट दुईजना भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको बिहार मोतिहारी जिल्लाको घोडासहान बस्ने बन्टीकुमार कलवार र सुरज कलवार रहेका छन् । बीआर ०५ आर ४५२१ नम्बरको भारतीय मोटरसाइकल चढेर आउँदै गरेको समयमा परोहा नगरपालिका वडा नम्बर– ९ रामपुरखापमा चकेजाँच गर्ने क्रममा उनीहरुको साथबाट स्रोत नखुलेको ३० लाख ७६ हजार रुपैयाँ बरामद भएको रौतहटका प्रहरी उपरीक्षक सिद्धीविक्रम शाहले बताउनुभयो । प्रहरीका अनुसार पक्राउ परेका बन्टी कुमारले उक्त रकम राजपुरको एक चिम्नी भट्टामा पु¥याउन आएको बताएका छन् । बरामद भएको उक्त रकमबारेमा थप अनुसन्धान भइरहेको उपरीक्षक शाहले बताउनुभयो । नेपाल–भारत सीमा क्षेत्रबाट प्रहरीले चालु आर्थिक वर्षमा एक करोड रुपैयाँभन्दा बढी स्रोत नखुलेको रकम बरामद गरेको छ । भारतीय सीमा क्षेत्रबाट नेपाल भित्र्याउँदै गरेको अवस्था हालसम्म १ करोड १७ लाख ८६ हजार रुपैयाँ स्रोत नखुलेको रकम बरामद भएको शाहले बताउनुभयो । प्रहरीको चेकजाँचका क्रममा ९ पटक यसरी श्रोत नखुलेका रकम बोक्ने गिरोहका १२ जना पक्राउ परेको पनि उहाँले जानकारी दिनुभयो ।