हेटौंडा,हेटौँडा उपमहानगरपालिकामा निर्वाचित जनप्रतिनिधिमाथि आक्रमणको घटना दोहोरिएको छ ।गत असार ४ गते वडा नम्बर १ का वडा अध्यक्ष सविन न्यौपानेमाथि भएको आक्रमणको घटना सेलाउन नपाउँदै बिहीवार वडा नम्बर ४ का वडा अध्यक्ष नवीन सिग्देलमाथि पनि कुटपिट भएको छ । यसपटकको आक्रमणमा स्थानीय नागरिक नभएर सडक निर्माण कार्यसँग जोडिएकी एकजना महिला निर्माण व्यवसायी सरिक भएकी छिन ।

वडा अध्यक्ष सिग्देलमाथि हेटौँडा– ४ स्थित हेटौँडा क्याम्पस अगाडिको सडक विस्तारका विषयमा छलफल चलिरहेको बेला हातपात भएको हो । प्रहरीका अनुसार काभ्रे जिल्लाको रोशी गाउँपालिकाकी मञ्जु लामाले वडा अध्यक्षमाथि आक्रमण गरेकी हुन् । वडा अध्यक्षले सडक निर्माणका विषयमा धारणा राखिरहँदा लामाले भिडियो खिच्न थालेपछि रोक्न आग्रह गर्दा विवाद चर्किएको र त्यसक्रममा आक्रमण भएको प्रत्यक्षदर्शीको भनाई छ ।

सडक निर्माणको काम अलपत्र अवस्था रहेकोले स्थानीयको आक्रोश वडा अध्यक्ष सिग्देलमाथि लक्षित हुँदैआएको थियो । हेटौँडा क्याम्पसदेखि हुप्रचौरसम्मको सडक लामो समयदेखि निर्माण हुन नसक्दा जनगुनासो बढ्दै आएको हो । निर्माण हुननसक्दा उक्त सडकबाट वर्षायाममा पैदल हिँड्नसमेत कठिन हुने अवस्था थियो । स्थानीयले सो सडकको दुरावस्था बारेमा सामाजिक सञ्जालमा भिडियोमार्फत असन्तुष्टि पोख्दैआएका थिए ।
पटक पटक हुदैआएका आक्रमणका घटनाले हेटौडामा जनप्रतिनिधिको भौतिक सुरक्षामा गम्भीर प्रश्न उत्पन्न भएको छ । घटनापछि वडा अध्यक्ष सिग्देलले निर्माण क्षेत्रको अनुगमनको क्रममा आफूमाथि योजनाबद्ध आक्रमण भएको प्रतिक्रिया दिनुभएको छ । प्रहरीले तत्काल हस्तक्षेप गरेर आक्रमणकारी भनिएकी मञ्जु लामालाई नियन्त्रणमा लिएको छ ।
यसैबीच, घटना गम्भीरभन्दै वडा कार्यालयले शुक्रवारका लागि तय सबै कार्यक्रम रद्द गरेको छ भनेउपमहानगरपालिकाले एक दिन सेवा नदिने निर्णय गरेको छ । नगरप्रमुख मीनाकुमारी लामाले पत्रकार सम्मेलन गर्दै प्रतिनिधिमाथि बढेको सुरक्षा चुनौतिले आफूहरु गम्भीर भएको र आक्रमणकारीहरुमाथि प्रशासनले कठोर कदम नचाले परिस्थिति नियन्त्रण बाहिर जानसक्ने नगर प्रमुख लामाले चेतावनी दिनुभएको छ ।

Leave a Reply