राजन कुमार बानिया
पोखरिया ९ असार,पर्साको बिन्दवासिनी गाउँपालिकाले आर्थिक वर्ष २०७९÷८० को नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ ।
बिन्दवासिनी गाउँपालिकाका अध्यक्ष प्रमोद तिवारीले ११ औँ गाउँसभाबाट आर्थिक वर्ष २०७९÷८० को लागि नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गर्नुभएको थियो । अध्यक्ष तिवारीले २९ करोड ५० लाखको अनुमानित बजेट प्रस्तुत गर्नु भएको हो ।
तिवारीले आगामी वर्षको नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य, कृषि क्षेत्रलाई पहिलो प्राथमिकतामा राखिएको बताउनुभयो । विकास निर्माणका कार्यक्रमलाई समयमै सम्पन्न गर्दै बजेट फ्रिज हुन् नदिने कार्य पनि प्रमुख प्रथमिकतामा राखिएको अध्यक्ष तिवारीले बताउनुभयो । यसका लागि जनप्रतिनिधि र कर्मचारीहरुको सहयोग अपरिहार्य भएको अध्यक्ष तिवारीको भनाइ थियो । गाउँपालिकाको विकासमा जनसमुदाय र स्थानीय राजनीतिक दलका कार्यकर्ताहरुको राय सुझाव र सहयोग लिएर आफू अगाडि बढने अध्यक्ष तिवारीले बताउनुभयो ।
कार्यक्रममा बोल्दै गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत राजु साहले गत वर्षहरुको तुलनामा यसपटक गाउँपालिकाको नीति तथा कार्यक्रमले सबै क्षेत्रलाई समेटेको बताउनुयो । शिक्षा, स्वास्थ्य, कृषि, भौतिक पूर्वाधार विकास, रोजगार, महिला तथा बालबालिकाको हकहित जस्ता महत्वपूर्ण विषयलाई नीति तथा कार्यक्रममा समावेश गरिएको उहाँले बताउनुभयो ।
गाउँसभामा गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष अछेलाल महतो, वडा नम्बर २ का वडा अध्यक्ष मुक्तिनाथप्रसाद कुर्मी, वडा नम्बर ३ का वडा अध्यक्ष जयप्रकाश चौरसिया, वडा नम्बर ४ का अनोज चौरसिया, वडा नम्बर ५ का मोहन राउत अहिर, कार्यपालिका सदस्य कुसमीकुमारी देबी, मान्ती देबी, रिमा देबी, धनपति तत्मिन, शम्भुप्रसाद बरै, अशोक गुप्ता तथा वडा सदस्य, कर्मचारी पत्रकार, सुरक्षाकर्मीलगायतको उपस्थिति रहेको थियो । कार्यक्रम संचालन गाउँपालिकाका समाजिक शाखा प्रमुख रामप्रवेश साहले गर्नुभएको थियो ।