जीतपुर,बाराको परवानीपुरमा रहेको कृषि अनुसन्धान निर्देशनालय मातहतमा सञ्चालित कुखुरा अनुसन्धान इकाई (ह्याचरी) अब राष्ट्रिय पंक्षी अनुसन्धान कार्यक्रमको रुपमा सञ्चालन हुने भएको छ ।

आगामी आर्थिक वर्ष २०७९÷०८० देखि ह्याचरीको स्तरोन्नति गरी राष्ट्रिय पंक्षी अनुसन्धान कार्यक्रम सञ्चालन गरिने भएको हो ।

विक्रम संवत २०१८ सालमा कृषि विभाग अन्तर्गत सेन्ट्रल ह्याचरीको रुपमा स्थापित ह्याचरीको उद्घाटन तत्कालीन राजा महेन्द्र शाहले गर्नुभएको थियो । २०४६ सालको राजनीतिक परिवर्तनपछि सेन्ट्रल ह्याचरी क्षेत्रीय कृषि अनुसन्धान केन्द्र परवानीपुरको मातहतमा रहने गरी कुखुरा अनुसन्धान इकाई नामकरण गरी सञ्चालनमा रहेको थियो ।

६ दशकदेखि सञ्चालनमा रहेको यो ह्याचरीले देशका विभिन्न भेगका किसानलाई कुखुरा, हाँस, टर्की, बट्टाई लगायतका पंक्षीका चल्ला निःशुल्क तथा सःशुल्क समेत बिक्री वितरण गर्दै आएको छ ।

गत वर्ष कृषि अनुसन्धान परिषद् (नार्क) ले कुखुरा अनुसन्धान इकाईलाई राष्ट्रिय पंक्षी अनुसन्धान कार्यक्रमको रुपमा स्तरोन्नति गरी सञ्चालन गर्ने निर्णय गरेको थियो । कुखुरा अनुसन्धान इकाईका वैज्ञानिक अजितकुमार झाका अनुसार परवानीपुरमा आउँदो साउन १ देखि स्वायत्त कार्यालयको रुपमा राष्ट्रिय पंक्षी अनुसन्धान कार्यक्रम सञ्चालनमा आउने भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here