निजगढ,मधेस प्रदेशमा सत्ता गठबन्धनको नयाँ सरकार बनाउने योजनामा केही समयका लागि ब्रेक लागेको छ ।
एमाले, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनमत पार्टी र लोकतान्त्रिक समाजवादी (लोसपा) नेपालबीच नयाँ सरकारका लागि पहल गर्ने सहमति भएको थियो ।

जनमत पार्टीको नेतृत्वमा सरकार गठनका लागि मधेस प्रदेशकी प्रदेश प्रमुख सुमित्रा देवी भण्डारीसमक्ष नाम प्रदेश सभा सदस्यहरूको नाम बुझाउने निर्णय दलहरूले गरेका थिए । तर अब केही समय त्यो प्रक्रिया अगाडि नबढ्ने माओवादी मधेस प्रदेशका संसदीय दलका नेता भरत साहले बताउनुभयो ।उहाँले भन्नुभयो, ‘प्रदेशस्तरमा हामीबीच सबै कुरा मिलिसकेको छ, प्रक्रिया अगाडि बढाउने कुरा पनि तय भइसकेको थियो । तर केन्द्रमा केही कुरा मिलाउन बाँकी रहेको कारण हाललाई सो प्रक्रिया स्थगित गरिएको छ ।’
अहिले प्रक्रिया सुरु गरे पनि मुख्यमन्त्री यादवलाई हटाउन सकिँदैन । उहाँले संसदमा बहुमत सिद्ध गर्न अझै समयमा बाँकी छ । उहाँले बहुमत सिद्ध नगरेमा मात्रै अर्को सरकार गठनको प्रक्रिया सुरु हुन्छ ।तर, एमाले र माओवादीले समर्थन फिर्ता लिएपछि मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव अल्पमतमा परिसक्नुभएको छ । उहाँ नेतृत्वको सरकारबाट एमाले र माओवादीले समर्थन फिर्ता लिएसँगै उनी अल्पमतमा पर्नुभएको हो ।माओवादी केन्द्र र नेकपा (एमाले)ले वैशाख ३० गते मधेस सरकारबाट आफ्नो समर्थन फिर्ता लिएका थिए । समर्थन फिर्ता लिएको मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्छ । तर मुख्यमन्त्री यादवले हालसम्म विश्वासको मत लिनुभएको छैन ।विश्वासको मत लिनका लागि मुख्यमन्त्री यादवले दलहरूको बीचमा छलफल चलाइरहनुभएको छ । अहिलेको जसपा नेपाल नेतृत्वको सरकारलाई माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)ले साथ दिइरहेको छ ।
साहले जस्तै जनमत पार्टी मधेस प्रदेशका संसदीय दलका नेता महेश यादवले प्रदेशमा दलहरूको बिचमा सहमति भए पनि केन्द्रमा केही कुरा मिलाउन बाँकी रहेकाले अहिलेलाई नयाँ सरकार गठन प्रक्रिया स्थगित गरिएको बताउनुभयो ।
पाँच दलको बिचमा जनमतको नेतृत्वमा नयाँ सरकार बनाउने सहमति भएको बताउँदै उहाँले आफूहरूले केन्द्रको निर्णयको प्रतिक्षमा रहेको जानकारी दिनुभयो ।मधेस प्रदेशमा एमालेको २५, काँग्रेसको २२, जसपा नेपालको १९, जनमत पार्टीको १३, लोसपा र माओवादी केन्द्रको ९–९,नेकपा (एकीकृत समाजवादी)को ७ र नेपाल सङ्घीय समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीसँग एक–एक गरी १०७ सांसद सांसद छन् ।सरकार बनाउनका लागि ५४ जना सांसद चाहिन्छ । अहिले जनमतको नेतृत्वमा सरकार बनाउने पक्षमा ६२ जना सांसद छन् । माओवादी, एमाले, नेकपा (एकीकृत समाजवादी), जनमत र लोसपाको बिचमा सहमति भएको भनिए पनि नेकपा (एकीकृत समाजवादी) ले हालसम्म जसपा नेपाल नेतृत्वको सरकार छाडेको छैन ।यस्तै लोसपाका नेताहरूले समेत नयाँ सरकार गठनका लागि आफूहरूसँग कुनै छलफल नगरेको बताउँदै आएका छन् ।


















