कलैया,अनुमति बेगर पसल संचालन गर्ने व्यवसायीलाई बारा सुनचाँदी संघ जिल्ला कार्यसमितिले जरिवाना गर्ने भएको छ ।
संघको ंमंगलवार बसेको बैठकले जिल्लाभरिका सुनचाँदी पसल, कालीगढहरु, कटाई छिलाई, होलसेल तथा टंच गर्ने पसलहरु बिहान १० भित्रमासरसफाइ तथा पूजापाठ गरी पुनः बन्द गरिसक्नुपर्ने तथा १० बजेपछि पसल खोल्नु परेमा समितिलाई जानकारी गराएर मात्र पसल खोल्न र आवश्यक कार्य गरी पसल पुनः बन्द गर्न व्यवसायीहरुलाई निर्देशन दिएको छ ।
संघले बनाएको नियम उल्लंघन गरेको पाइएमा त्यस्ता व्यवसायीलाई पहिलो पटक पाँच हजार एक रुपैया र दोस्रो पटकमा एघार हजार रुपैया जरिवाना गरिने अनुगमन समितिका सदस्य पारस सरार्फले जानकारी गराउनुभयो ।
पसल संचालनको अवस्थाबारे जानकारी प्राप्त गर्न संघलेप्रह्लाद सर्राफको संयोजकत्वमा ८ सदस्यीय अनुगमन समितिसमेत गठन गरेको छ ।
त्यसैगरी अनुगमन समितिको सदस्यहरुमा सतिस सर्राफ, संदीप सर्राफ, शंभु सर्राफ, बिष्णु सर्राफ, पारस सर्राफ, अमित सर्राफ र ओम प्रकाश सरार्फ रहेका छन् । संघले आह्वान गरेको बन्द बारा जिल्लमा प्रभावकारी रुपमा लागू गर्न अनुगमन समिति गठन गरिएको संघ बाराका अध्यक्ष शिवकुमार सर्राफले बताउनुभयो ।
नेपाल सरकारले साउन १ गतेदेखि लागू हुनेगरी सुन र सुनका गहनामा २ प्रतिशत कर तथा हिरा जवाहरात लगायतका बहुमुल्य पत्थरमा १३ प्रतिशत कर लगाउने घोषणा गरेसँगै विरोधमा उत्रिएका व्यवसायीहरुले अषाढ १३ गतेदेखि अनिश्चितकालिन व्यवसाय बन्दको आह्वान गरेका छन ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघ र नेपाल सुनचाँदी रत्न आभुषण महासंघले सयुक्त रुपमा आन्दोलनको घोषणा गरेको हो ।


















