वीरगन्ज,पर्सा जिल्लामा बैशाख १६ गतेदेखि जारी निषेधाज्ञा फेरि एक साताका लागि थप गरिएको छ । बुधबार अपरान्ह बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र डिसिसिएमसीको बैठकले जेठ १३ गते बिहीबारसम्मका लागि लगाइएको निषेधाज्ञा जेठ २० गतेसम्मका लागि थप्ने निर्णय गरेको हो । पर्सा जिल्लामा कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जारी भएको निषेधाज्ञा संक्रमणको चेनब्रेक गर्न उपयोगी देखिएकाले जेठ २० गते मध्यराति १२ बजेसम्मका लागि थप्ने निर्णय गरिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले जानकारी दिनुभयो ।

दोश्रो लहरको कोरोना संक्रमण बढ्दै गएपछि पर्सा जिल्लामा बैशाख १६ गतेबाट लगाइएको निषेधाज्ञा पहिलो पटक बैशाख २३ गतेबाट पुनः थप गरी बैशाख ३० गतेसम्मका लागि लम्ब्याइएको थियो । त्यसपछि दोश्रो पटक बैशाख ३० गतेबाट जेठ ६ गतेसम्मका लागि र तेश्रो पटक थप गरी जेठ १३ गते बिहिबारसम्मका लागि निषेधाज्ञा थपिएको थियो । निषेधाज्ञा लगाइएयता जिल्लामा संक्रमण दर घटदै गएकाले बुधबार डिसिसिएमसीको बैठक बसेर थप एक साता अर्थात जेठ २० गतेसम्मका लागि थप्ने निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिनुभयो ।

यसैबीच रौटहटमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि चौथो पटक थप एक साता निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय रौतहटले बुधबार एक सूचना जारी गरी बिहिबार राति १२ बजेदेखि लागु हुने गरी जेठ १९ गतेसम्मका लागि निषेधाज्ञा जारी गरेको छ । जिल्ला प्रशासन कार्यालय गौरमा बुधबार सम्पन्न बैठकले जेठ १९ गतेसम्म जिल्लाभर निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले कोरोना संक्रमित हुने क्रममा नै रहेकाले सो अवस्था रोकथामको लागि निषेधाज्ञा जारी गरिएको जानकारी दिनुभयो । निषेधाज्ञाको अवधिमा अत्यावश्यक सेवाका बाहेक अन्य सबै सेवा बन्द रहने बताइएको छ । निषेधाज्ञाको पालना नभइ अब कडाइका साथ कारवाही गरिने जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ । कोरोना संक्रमणको विषम परिस्थितिमा नेपाल सरकारले अध्यायदेश जारी गरि कडाइका साथ निषेधाज्ञाको पालना गराउने प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताउनुभएको छ । निषेधाज्ञाको अवज्ञा गरेमा १ वर्ष कैद, ५ लाखसम्म जरिवाना वा दुवै हुन सक्ने जनाइएको छ । रौतहटका आम नागरिकहरुले पुर्ण रुपमा निषेधाज्ञाको पालना गर्नु पर्ने अन्यथा अध्यादेशमा तोकिए बमोजिम कारवाही हुने जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।

ग्रामीण भेगमा निषेधाज्ञाको अवज्ञा

रौतहटका ग्रामीण क्षेत्रका हाटबजारहरु निषेधाज्ञाको समयमा पनि सञ्चालनमा आएको पाइएको छ । जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञाको अवज्ञा गर्दै भिडभाड गरेर हाटबजार संचालनमा आएका हुन ।

रौतहटको गुजार नगरपालिकाको वडा नम्बर ३ र ४ जंगलशैयामा बजार क्षेत्रका व्यापारीहरुले स्वास्थ्य सुरक्षा सर्तकताबीना नै हाटबजार सञ्चालन गरिरहेको स्थानीयले बताएका छन ।

कोरोना महामारीले मुलुक अस्तव्यस्त रहेको बेला रौतहटका गुजरामा भने खुल्लमखुल्ला हाटबजार र पसल सञ्चालन गरिरहदा समेत स्थानीय प्रशासन तथा जनप्रतिनिधिहरुले बेवास्ता गरेको स्थानीयको भनाइ रहेको छ ।

रौतहटमा पछिल्लो समय कोरोना संक्रमणबाट ८६ जनाको मृत्यु भइसकेको छ । गुजरा नगरपालिकामा हालसम्म १० जनामा कोरोना संक्रमितहरु रहेका छन । नगर क्षेत्रमा विभिन्न क्षेत्रका व्यापारीहरुको आवतजावत हुने हुदाँ कोरोना संक्रमणको उच्च जोखिम रहेको स्थानीयले प्रतिक्रिया दिएका छन । जिल्ला प्रशासन कार्यालय रौतहटले कडाइका साथ निषेधाज्ञाको पालना गराउने बताए पनि रौतहटका ग्रामीण क्षेत्रमा भिडभाडका साथ निषेधाज्ञाको अवज्ञा भइरहेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here