कलैया,बाराको कलैया उपमहानगरपालिका वडा नम्बर १० स्थित मटिअर्वाबाट सशस्त्र प्रहरीले स्रोत नखुलेको भारतीय रुपैयाँ तथा चरेशसहित तीन जनालाई पक्राउ गरेको छ ।सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म मटिअर्वाले २ लाख ५ हजार ६ सय भारतीय रुपैयाँसहित भारतीय नागरिक ३६ वर्षीय सत्येन्द्र कुमारलाई शनिवार पक्राउ गरेको हो ।
सत्येन्द्र कुमार बीआर २८ एडी ९२५८ नम्बरको मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउँदै गर्दा उनको साथमा भारतीय नोट फेला परेको हो । साथै असार १८ गते सोही गुल्मले १० किलो २ सय ३० ग्राम चरेशसहित भारतका शुक्रवार वर्षीय भरत साह र १८ वर्षीय मनिष कुमारलाई पनि पक्राउ गरेको छ ।
बीआर ०५ बीई ०७६७ नम्बरको मोटरसाइकलमा सवार उनीहरूले मोटरसाइकलको हेल्मेट र सिटमुनी लुकाई छिपाई ल्याउँदै गरेको अवस्थामा चरेश फेला परेको हो ।पक्राउ परेकाहरूलाई बरामद भारतीय रुपैयाँ, चरेश र मोटरसाइकलसहित आवश्यक कानुनी कारबाहीको लागि सम्बन्धित निकायमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।