कोल्हबी,बाराको बारागढी गाउँपालिका वडा नम्बर ५ सिहासनी बैरियामा लाग्ने पञ्चवर्षीय गढिमाई मेलाको आइतवारदेखि शुरु भएको छ ।यो वर्ष मेलालाई भव्य बनाइने मेला समितिका अध्यक्ष तथा बारागढी ५ का वडा अध्यक्ष मनेजर चौधरीले जानकारी दिनुभएको छ ।

यस वर्ष गढिमाईको मेला बैशाख २१ गतेदेखि २५ गतेसम्म पाँच दिन लाग्नेछ । मेलामा नेपाल तथा भारतका म्युजिकल ग्रुपकोे प्रस्तुति रहने चौधरीले जानकारी दिनुभयो ।गढिमाई मेलालाई थप आकर्षक बनाउनको लागि विभिन्न किसिमका खेल तमासाहरुको व्यवस्था गरिएको छ । मेलामा मौतको कुवा, झुला, ड्रेगन हाउस, रोटे पिङको व्यवस्था गरिएको छ । यस वर्षको गढिमाई मेलाको २० लाखकोे अनुमानित बजेट रहेको छ । बारागढी गाउँपालिका वडा नम्बर ५ को वडा कार्यालयले पाँच लाख रुपैया सहयोग गरेको छ ।
पन्ध्र लाख घरधुरीबाट चन्दा संकलन गर्ने लक्ष्य रहेको छ । यस सिहासनी टोलमा परापुर्व कालदेखि नै गढिमाईको स्थानमा पूजा गर्दै आएको र गढिमाई माताको आशिर्वादले धेरै जनाको मनोकामना पूरा भएको स्थानियको भनाई छ ।
सबैभन्दा अनौठो कुरा जुन बर्ष गढिमाईको मेला यो गाउँमा लाग्छ त्यो बर्ष यस सिहासनी गाउँको बासिन्दा कसैले पनि आफ्नो छोरा छोरीको बिहे नगराउने परम्परा रहेको छ । यदि कसैले गढिमाई मेला लागेको बर्ष आफ्नो छोराछोरीको बिहे गराए भने अनिष्ट हुने जनविश्वास रहेको छ ।मेलालाइ सभ्य र भब्य तरिकाले सफल बनाउनको लागि सम्पुर्ण गाउँबासी, व्यापारी, जनप्रतिनिधि, नागरिक समाज, सुरक्षाकर्मी, पत्रकारलगायत सम्पूर्ण सरोकारवालाहरुलाइ मेला समितिले आग्रह गरेको छ ।

















