वीरगञ्ज पथलैया औधोगिक क्षेत्रमा साना ठुला गरी दुई हजारभन्दा बढी उद्योगहरु रहेको उद्योगीहरुले दाबी गर्दै आइरहेका छन । यी उद्योगहरुले सरकारलाई बर्षेनी करोडौं रुपैयाँ राजश्व पनि बुझाउने गरेको पनि बताउने गरेका छन । यी उद्योगहरुमा केही मजदुरहरु पक्कै पनि कार्यरत छन र उनीहरुको जीविका पनि चलिरहेको छ यो पनि सत्य नै हो । तर उद्योगीहरुले लापारबाही गरिदिँदा मजदुरहरु बेरोजगार पनि बन्ने गरेका छन । पछिल्लो समय यस्तै भएको छ । त्यसो त केही वर्षअगाडि यहाँका उद्योगहरुले अबैद्य तरिकाले बत्ति बालेर उद्योग चलाउने नै गर्दथे यो पनि सत्य हो । जब विद्युत प्राधिकरणले महशुल संकलनमा कडाइ गर्न थाल्यो त्यसपछि यिनीहरुमा रुवाबासी सुरु भएको छ । र अहिले महशुल नतिर्ने उद्योगहरुको भटाभट लाइन काटिएपछि उद्योगीहरु हारगुहार गरिहेका छन । वास्तवमा बत्तिको प्रयोग गरेर महशुल नतिर्नु उनीहरुको बदमासी नै हो । उनीहरुको यो बदमासीका कारण अहिले सडकमा मजदुर उतारेर नाटक गरिरहेका छन । बिजुलीको बक्यौता रकम तिर्नुको विकल्प छदै छैन । उद्योगीहरुका लागि बिजुली निःशुल्क दिने अनि आम नागरिकहरुसंग पैसा लिने यो रवैया कसैका लागि पनि स्वीकार्य हुने कुरै भएन । त्यसैले पनि उद्योगीहरुले बक्यौता रकम तिर्नुको विकल्प छैन । यो वा त्यो बाहना गरेर हुदैन । रकम लामो समय नतिरेपछि त रकम यसै पनि बढने नै हो नि । अनि बक्यौता जम्मा गर्ने आज धेरै भयो तिर्न सकिएन भन्न चैं मिल्दै मिल्दैन ।


















