काठमाण्डौं,विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने माग राख्दै नेपाल शिक्षक महासंघले आइतवार पनि काठमाडौं प्रदर्शन गरेका छन् ।विद्यालय शिक्षा ऐन तत्काल जारी गर्न माग महासंघको नेतृत्वमा शिक्षकहरूले माइतीघर– बानेश्वर क्षेत्रमा प्रदर्शनसहित धर्ना दिएका हुन् । उनीहरुले आइतवार बिहान ९ बजेबाट १२ बजेसम्म प्रदर्शन गरेका थिए ।यसअघि मध्यान्हपछिमात्रै प्रदर्शनमा उत्रिएका शिक्षकहरु आइतवार भने बिहानैबाट प्रदर्शनमा सहभागी भएका थिए । उनीहरूले संघीय संसदबाट ऐन पारित नभएसम्म आन्दोलन नरोकिने भन्दै नाचगानका साथै रचनात्मक कार्यक्रम गर्दै प्रदर्शन गरेका हुन् । सो क्रममा महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले अनुशाासित, मर्यादित र संयमित भए आन्दोलनमा सहभागी हुन शिक्षकहरुलाई आग्रह गरेका छन् ।
यसैबीच शिक्षक महासंघले शैक्षिक हड्ताल भएकाले निजी विद्यालय पनि बन्द गर्न आग्रह गरेको छ । महासंघले विज्ञप्ति निकालेर निजी विद्यालय सञ्चालकहरूलाई विद्यालय बन्द गर्न आग्रह गरेको हो ।शैक्षिक आम हड्तालको यो अभियानलाई सफल तुल्याउन संस्थागत विद्यालयहरु समेत बन्द गरी साथ दिन सम्बन्धित सबै मित्रहरुमा अनुरोध छ,’ महासंघले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।देशभरका सबै विद्यालय पूर्णरुपमा बन्द गरी काठमाडौं आउन सबै शिक्षक–कर्मचारीलाई महासंघले आग्रह गरेको छ । आन्दोलनको यो अवधिमा विद्यालय खोल्ने, प्रवेश परीक्षा र ग्रेड वृद्धि परीक्षा सञ्चालन गर्ने, उत्तरपुस्तिका परीक्षण गर्ने, गोष्ठी, सेमिनार, शैक्षिक भ्रमण लगायतका कुनै पनि क्रियाकलापमा संलग्न नहुन महाससंघले शिक्षकहरूलाई निर्देशन दिएको छ ।कक्षा १२ को परीक्षामा संलग्न नहुन पनि प्रधानाध्यापक, शिक्षक तथा कर्मचारीलाई महासंघले आग्रह गरेको छ ।
आन्दोलनले सर्वसाधारणलाई सास्ती
काठमाण्डौ – नेपाल शिक्षक महासङ्घ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को प्रदर्शनका कारण काठमाण्डौ उपत्यकामा सहज ढङ्गले गाडी सञ्चालन नहुँदा सर्वसाधारणलाई सास्ती भएको छ ।माइतीघरदेखि नयाँबानेश्वरसम्म प्रदर्शनका कारण ट्राफिक व्यवस्थापन गर्न ट्राफिक प्रहरीलाई कठिन भएको छ । प्रहरीले आवश्यकतानुसार ‘रुट’ परिवर्तन गरी गाडीलाई वैकल्पिक मार्गबाट गन्तव्यतर्फ पठाएको काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता दीपक गिरीले जानकारी दिनुभयो । कार्यालय समयमा गाडी लामो समयसम्म जाममा पर्दा सर्वसाधारणले सास्ती भोग्नुपरेको थियो ।
















