काठमाण्डौं,रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन युद्धमा अस्थायी युद्धविरामको घोषणा गर्नुभएको छ । पुटिनले इस्टरको अवसरमा रुसी सेनाले स्थानीय समयअनुसार शनिवार बेलुका ६ बजेदेखि आइतवार मध्यरातसम्म झन्डै ३० घण्टा सबै सैन्य कारबाही रोक्ने जानकारी दिनुभएको छ ।
रुसी राष्ट्रपति कार्यालय क्रेमलिनको टेलिग्राम च्यानलमार्फत जारी गरिएको वक्तव्यमा पुटिनले युक्रेनी पक्षले पनि त्यसैअनुसार कदम चाल्ने अपेक्षा गर्नुभएको छ । यदि युक्रेनले युद्धविराम उल्लङ्घन वा कुनै प्रकारको उकास्ने कार्य ग¥यो भने रुसले जवाफी कारबाही गर्ने पुटिनले चेतावनीसमेत दिनुभएको छ ।
यसैबीच पुटिनले ‘इस्टर युद्धविराम’ घोषणा गरे पनि आक्रमण भइरहेको युक्रेनले जनाएको छ । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले आफूहरुले युद्धविरामको पालना गर्ने तर रुसबाट निरन्तर आक्रमण भइरहेको बताएको बीबीसीले जनाएको छ ।
यसैबीच युक्रेन र रुस दुवैले एकअर्कालाई ३० घण्टाको ‘इस्टर युद्धविराम’ उल्लङ्घन गरेको आरोप लगाइरहेका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले इस्टरको अवसरमा स्थानीय समयानुसार शनिवार बेलुका ६ बजेदेखि आइतवार मध्यरातसम्म झन्डै ३० घण्टा सबै सैन्य कारबाही रोक्ने बताउनुभएको थियो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस–युक्रेन शान्ति वार्तामा मध्यस्थता गर्ने प्रयास त्याग्ने धम्की दिएपछि ‘इस्टर युद्धविराम’ घोषणा भएको हो । यद्यपि त्यसबेलादेखि युक्रेन र रुस दुवैले आफूहरूविरुद्ध आक्रमण भइरहेको दाबी गर्दै आएका छन् ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसमाथि ‘युद्धविरामको नाटक’ गरेको र युक्रेनका केही क्षेत्रहरूमा अझै पनि सैन्य कारबाही जारी राखेको आरोप लगाउनुभएको बीबीसीले जनाएको छ । रुसी सेनाले ३८७ गोलीबारी अपरेशन, १९ आक्रमण र २९० पटक ड्रोन प्रयोग गरेको जेलेन्स्कीले बताउनुभयो ।यसैबीच रुसी मिडियाले युक्रेनले युद्धविराम तोडेको आरोप लगाएका बीबीसीको खबरमा उल्लेख छ । धेरै रुसी समाचार एजेन्सीहरूका अनुसार युक्रेनले गोली प्रहार गरेको र सयौं पटक ड्रोन आक्रमण गरेको मन्त्रालयको दाबी छ ।