काठमाडौं,नेपाल शिक्षक महासंघले आफ्ना मागहरु सम्बोधन गर्न सरकारलाई दबाब दिन चैत २० गतेदेखि अनिश्चितकालीन शैक्षिक सडक आन्दोलनको घोषणा गरेको छ। महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले मंगलवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा आन्दोलनको घोषणा गर्नुभएको हो ।महासंघका अनुसार, माघ २० गतेबाट सुरु भएको आन्दोलनको पहिलो चरणमा पालिका, जिल्ला, र प्रदेश तहमा आन्दोलनका कार्यक्रमहरू सम्पन्न भइसकेका छन्। फागुन २४ गते काठमाडौंमा वृहत् सडक आन्दोलन सभा सम्पन्न गर्दै पहिलो चरणको अन्त्य गरिएको थियो।

दोस्रो चरण अन्तर्गत फागुन २७ देखि चैत ५ गतेसम्म राजनीतिक दलहरूको केन्द्रीय कार्यालयमा धर्ना, चैत ७ देखि १५ गतेसम्म शिक्षा तथा मानव स्रोत विकास केन्द्रको परिसरमा रिले अनशन गरिएको थियो। अब चैत २० गतेदेखि देशभरका शिक्षक, कर्मचारीहरूको सहभागितामा ‘काठमाडौं जाऔं अभियान’ सञ्चालन गर्दै अनिश्चितकालीन सडक आन्दोलन थालिने महासंघले जनाएको छ।

अध्यक्ष सुवेदीका अनुसार, स्थायी, राहत, साविक उमावि, सिकाइ अनुदान, बालविकास कक्षा, अस्थायी÷करार, प्राविधिक धार, विशेष शिक्षा, र संस्थागत विद्यालयका सबै प्रकृतिका शिक्षक तथा विद्यालय कर्मचारीका समस्या समाधान गर्न सरकारलाई बाध्य पार्न आन्दोलनको घोषणा गरिएको हो।महासंघले गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक(कर्मचारी मैत्री अग्रगामी विद्यालय शिक्षा ऐन जारी गराउन माग गरेको छ। महासंघका अध्यक्ष सुवेदीले भन्नुभयो, “महासंघ र सरकारबीच भएका सबै सहमति सम्बोधन गर्ने गरी नयाँ विद्यालय शिक्षा ऐन जारी नभएसम्म आन्दोलन जारी रहनेछ।”

उहाँले आन्दोलनलाई शान्तिपूर्ण, अनुशासित र मर्यादित रूपमा सञ्चालन गरिने प्रतिबद्धता जनाउँदै शिक्षक, कर्मचारी, विद्यार्थी र गुणस्तरयुक्त विद्यालय शिक्षाकोपक्षमा आन्दोलन मुखरित हुने बताउनुभयो ।महासंघले सरकारले आफ्ना माग पूरा नगरेसम्म आन्दोलन नरोकिने स्पष्ट पारेको छ। अध्यक्ष सुवेदीले शिक्षा क्षेत्रमा सुधारको आवश्यकता रहेको भन्दै शिक्षा ऐनमार्फत समस्याको दीर्घकालीन समाधान खोज्न सरकारलाई आग्रह गर्नुभयो ।शिक्षक महासंघको यो आन्दोलनले विद्यालय शिक्षा, विद्यार्थीको हित र शिक्षामा गुणस्तरको पक्षमा आवाज उठाउने लक्ष्य राखेको महासंघले जनाएको छ।

Leave a Reply