निजगढ,०६३-०६४ सालको जनआन्दोलनमा सुरक्षाकर्मीको गोली लागेर शहादत प्राप्त गर्नुभएका सहिद हिरालाल गौतमको स्मृतिमा आज निजगढमा स्मृति सभाको आयोजना गरिएको छ ।निजगढ ४ स्थित सहिद हिरालाल पार्कमा आयोजना गरिएको सो सभाका सहभागीहरुले गौतमको शालीकमा माल्यार्पण गर्नुका साथै लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न सहिद गौतमको योगदानको चर्चा गरेका थिए ।
सहिद हिरालाल स्मृति प्रतिष्ठानका अध्यक्ष एकबहादुर श्रेष्ठको अध्यक्षतामा भएको सो कार्यक्रममा निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरी, उपप्रमुख सोममाया थिङ्ग, निजगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सूर्यप्रसाद गौतम, वडा नम्बर १ का वडा अध्यक्ष मंगले लोप्चन, वडा नम्बर ४ का बिसन सापकोटा, वडा नम्बर ५ का वडा अध्यक्ष सूर्यबहादुर थापामगरको सहभागिता रहेको थियो ।त्यसैगरी कार्यक्रममा नेकपा एमाले निजगढ नगर कमिटी अध्यक्ष तिलक घलान, नेकपा निजगढ नगर कमिटी अध्यक्ष सन्तोष दङ्गाल, सहिद पिता खडानन्द गौतम, पत्नी गायत्री गौतमलगायत विभिन्न राजनीतिक दलका प्रतिनिधि र स्थानीयबासिन्दाहरुको पनि सहभागिता रहेको थियो । कार्यक्रममा बोल्दै नगर प्रमुख पुरीले सहिदहरुको बलिदानकै कारण नेपालमा प्रजातन्त्र पुर्नवहाली र संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको बताउनुभयो । उहाँले सहिद गौतमको सपना साकार पार्न सबैले आआफ्नो क्षेत्रमा इमान्दारिताका साथ काम गर्नुपर्नेमा पनि जोड दिनुभयो ।
कार्यक्रमको संचालन नेकपा एमाले निजगढ नगर सचिव थानेश्वर सापकोटाले गर्नुभएको थियो ।निजगढ नगरपालिका वडा नम्बर ५ का बासिन्दा गौतमको निजगढमा भएको प्रदर्शनमा क्रममा सुरक्षाकर्मीको गोली लागेर ०६४ साल बैशाख ४ गते जयन गएको थियो । सहिद हिरालाल स्मृति प्रतिष्ठानले हरेक वर्ष निजगढमा सहिद गौतमको सम्झनामा स्मृति दिवस मनाउँदै आएको छ ।

















