कलैया,पत्रकार सुरेश रजकको हत्यामा संलग्नलाई कारबाही गर्न राज्य गम्भीर नभएको बाराका पत्रकारहरुले आरोप लगाएका छन ।नेपाल पत्रकार महासंघ बाराले शनिवार कलैयास्थित सभा हलमा आयोजना गरेको नेपाल पत्रकार महासंघ बारा शाखाका पूर्वअध्यक्ष र जिल्लामा संचारगृह संचालकहरुसंगको छलफल कार्यक्रममा वक्ताहरूले पत्रकार रजकको हत्यामा संलग्नलाई तत्काल पक्राउ गरी कानुनी दायरामा ल्याउन माग गरेका थिए । उनीहरुले संचार क्षेत्रको सुरक्षा गर्न र पत्रकारिता क्षेत्रको प्रबद्र्धन गर्न राज्यले विशेष योजना बनाउनु पर्नेमा जोड दिएका थिए ।
स्वर्गीय पत्रकार रजकको परिवारलाई रोजगारीको ग्यारेन्टी गर्न समेत वक्ताहरूले माग गरेका छन ।महासंघका अध्यक्ष रमेश सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महासंघ बारा शाखाका पूर्वअध्यक्ष कमल उपाध्याय, पूर्व उपाध्यक्ष राकेश पाण्डेय र रामबाबु मेहता, महासंघका सदस्य धिरेन्द्र तिवारी र नरेश गुप्ता, नेपाल प्रेस युनियनका मधेस प्रदेश अध्यक्ष सत्यप्रसाद श्रेष्ठ, महासंघका पूर्व सहसचिव संजय तिवारी लगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रमको संचालन महासंघका सचिव पुष्पराज खतिवडाले गर्नुभएको थियो ।
पत्रकारलाई ‘देखाइदिने’ हाकिमको धम्की
कलैया,समाचार लेखेकै कारण पत्रकारलाई बाराको सिम्रौनगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतले धम्की दिइएको घटनाप्रति नेपाल पत्रकार महासङ्घ बाराले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।महासङ्घ बाराका सचिव पुष्पराज खतिवडाले शुक्रवार एक प्रेस विज्ञप्ति जारी गर्दै सिम्रौनगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिओम जैसवालले पत्रकारलाई धम्की दिएकोभन्दै आपत्ति जनाउनुभएको हो ।विज्ञप्तिमा जनाइएअनुसार नेपाल पत्रकार महासङ्घ बाराका सदस्य तथा मिलन राष्ट्रिय दैनिकका कार्यकारी सम्पादक नरेश गुप्तालाई समाचार लेखेको विषयलाई लिएर प्रमुख प्रशासकीय अधिकृत जैसवालले “देखाई दिन्छु” भनी धम्की दिएका थिए ।
सचिव खतिवडाले पत्रकारलाई धाक धम्की दिनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको खुला हस्तक्षेप भएको र महासंघको गम्भीर ध्यानाकर्षण भएकोभन्दै कडा आपत्ति जनाउनुभएको छ । “समाचारमा लेखिएका विषयहरूमा चित्त नबुझे कानुनी बाटो अवलम्बन गरी समाधान खोज्न सकिन्छ तर पत्रकारलाई धम्क्याउने, दुव्र्यवहार गर्ने कार्य निन्दनीय छ ।” विज्ञप्तिमा उल्लेख छ ।महासङ्घले नेपाल सरकारका जिम्मेवार पदमा रहेका व्यक्तिहरूद्वारा यस्तो प्रकारको व्यवहार हुनु दुर्भाग्यपूर्ण र प्रेस स्वतन्त्रताविरुद्धको कार्य भएको भन्दै दोषीप्रति कारबाही र पत्रकारहरूको भौतिक तथा पेसागत सुरक्षामा विशेष ध्यान दिन सम्बद्ध निकायहरूलाई आग्रह गरेको छ ।महासङ्घले पत्रकार गुप्तामाथि भएको दुव्र्यवहारको घोर भत्र्सना गर्दै प्रेस स्वतन्त्रता सुरक्षाका लागि सशक्त प्रतिबद्धता व्यक्त गरेको छ ।

















